सरकारमा महिलाको प्रतिनिधित्वलाई कसरी हेर्नुभएको छ ?
हामीले अहिले जुन समावेशीकरण अपनाइरहेका छौँ, यसले जातीय, क्षेत्रीय, समुदायगत, लैंगिक समावेशीकरणका क्षेत्रमा के–के न गरेजस्तो देखिए पनि यथार्थमा यो वर्गीय विभेद सम्बोधन गर्ने अस्त्र नै होइन । यसले त केवल समावेशीरणको ‘कस्मेटिकीकरण’ मात्र गरिरहेको छ । यसले पुँजीवादभित्रको लोककल्याणकारी राज्य व्यवस्थामा सकभर धेरैलाई समेट्ने कोसिस गरे पनि यथार्थमा विभेद भने बाँकी नै रहन्छ । सरकारमा महिलाको प्रतिनिधित्वको सवाल पनि त्यही हो । संविधानले तोकेको अवस्थामा बाध्यतावश त्यो प्रतिशत या संख्या पुर्याउने र नतोकेको अवस्थामा समावेशीकरणको मर्मअनुसार केहीलाई समावेश गर्ने परम्परा सरकार निर्माणको समयमा पनि अवलम्बन गरिँदै आएको छ ।
नेपाली समाजमा महिलालाई राजनीतिमा आउन कति सहज छ ?
पहिले साहना प्रधानहरूको समयमा नेपाली महिला राजनीतिमा लाग्ने कल्पना पनि हुन्नथ्यो । तैपनि, उहाँहरू राजनीतिमा आउनुभयो । पञ्चायतमा पनि पुरुषहरूको साथ र सहयोगविना बाहिर निस्कनै कठिन थियो । ०४६ पछि पनि महिलाका लागि त्यति सहज थिएन । तैपनि, हाम्रो पुस्ता त्यतिखेरकै राजनीतिमा होमिएको हो । तर, अहिले भने अहिले समावेशीकरणका कारण राजनीतिक इतिहास, संलग्नता या सांगठनिक पृष्ठभूमि केही नभए पनि राजनीतिमा आउन र स्थापित हुन सजिलो भएको छ ।
विद्यार्थी राजनीति सुस्ताएको समयमा नेपाली महिलाको नयाँ पुस्ता राजनीतिमा आउने सम्भावना कति देख्नुहुन्छ ?
नेपाली राजनीतिमा आकर्षण नभएको र महिलाको उपस्थिति कमजोर भएको भन्ने होइन । अहिले राजनीतिप्रति झनै आकर्षण बढेको छ र महिलाको उपस्थिति पनि बढ्दै छ । तर, विद्यार्थी राजनीतिले आफ्नो एजेन्डा र भूमिका भुलेर प्रभावहीन भएको समयमा तलैदेखि खारिएर आउने पुस्ताको भने अभाव खड्किन सक्छ । नयाँपत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया