जेठ ४, २०८१ शुक्रबार May 17, 2024

न देखिन्छ हिमाल, न उड्छ जहाज : प्रदूषणले जनजीवन प्रभावित

भिजिबिलिटी कम भएकाले उडान हुनै कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेखनाथ, वैशाख १७ गते । बाक्लो तुवाँलो लागेपछि पोखरासहित देशैभरको मौसम बिग्रिएको छ । मौसमकै कारण आइतबार दिउँसो १ बजेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । त्यसपछि मात्रै विमान आवागमन भएको छ । पृथ्वी राजमार्ग स्तरोन्नति जारी रहँदा हवाई सेवासमेत अनियमित बनेपछि यात्रु प्रभावित भएका छन् ।

एक सातादेखिको तुवाँलोका कारण शनिबार पोखरा आउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पूर्वनिर्धारित कार्यक्रम नै रद्द भएको थियो । यो क्रम केही दिनदेखिकै हो । तुवाँलो लाग्न सुरु भएदेखि नै हवाई सेवा प्रभावित हुँदै आएको छ । शुक्रबार पोखराबाट दैनिक ३३ उडान हुनेमा तीन उडान मात्र भएका थिए । शनिबार विमानस्थलबाट उडान नै भएनन् । भिजिबिलिटी कम भएकाले उडान हुन नसकेको विमानस्थलले जनाएको छ । विमानस्थलका एटिसी प्रमुख योगेन्द्र कुँवरले एक साताभन्दा बढी समयदेखि हवाई सेवा अनियमित भएको बताउनुभयो । आइतबार १ बजेदेखि भने उडान भइरहेको उहाँले जानकारी दिनुभयो ।

पोखरामा प्रदूषणका कारण आँखा पोल्ने बिरामीको सङ्ख्या बढ्दो छ । शनिबार वायु प्रदूषण इन्डेक्स २०८ एक्वुआईसम्म पुगेकोमा आइतबार १७२ सम्म झरेको छ । एक्युआई १५० सम्म संवेदनशील र दुई सयमाथि अस्वस्थकर मानिन्छ ।

अहिले पोखरा–१७ मा रहेको हिमालयन आँखा अस्पतालमा आँखाको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या बढेको छ । नेत्र चिकित्सक इन्द्रमान महर्जनले एक हप्तादेखि आँखाको एलर्जी र आँखा पोल्ने समस्या लिएर धेरै बिरामी आइरहेको बताउनुभयो । “आँखा अस्पताल भएकाले आँखाका बिरामी आउने कुरा स्वाभाविक भयो तर पछिल्लो हप्ता आँखा पोल्ने र एलर्जी समस्या बढेको छ,” उहाँ भन्नुहुन्छ ।

बाक्लो तुवाँलोका कारण एक किलोमिटर टाढा नै देख्न कठिन छ । फेवातालमा हिमालको छाया हेर्ने पर्यटक तुवाँलोका कारण निराश छन् । भारतबाट आउनुभएका रविकुमारले मौसमका कारण आफ्नो भ्रमण निराशाजनक भएको बताउनुभयो  । “तीन वर्षअघि आउँदा मनै तानेको थियो, अहिले परिवारसहित आएको, केही हेर्नै पाइएन,” खिन्न स्वरमा उहाँले भ्रमण फलदायी नभएको सुनाउनुभयो । परिवारसहित अन्नपूर्ण क्षेत्रको पैदलयात्रामा रहनुभएका वायु प्रदूषणसम्बन्धी विज्ञ डा. लेखेन्द्र त्रिपाठी एबिसी पदयात्रा मार्गमा पनि बाक्लो तुवाँलो रहेको बताउनुहुन्छ । “पोखरा यस्तो कहिल्यै देखिनँ । यति प्रदूषित होला भन्ने कल्पना पनि गरेको थिइनँ । एबिसीमा छु, नीलो आकाश, नजिकै झरना र हिमाल देख्न पाएको छैन,” उहाँले भन्नुभयो ।

लामो समयसम्म वर्षा नहुँदा र देशैभर डढेलो लाग्दा यस्तो समस्या आएको उहाँको ठम्याइ छ । “प्राकृतिक र मानवीय दुवै कारणले यस्तो भएको हो । तुवाँलो हट्न कि हावाले बगाउनु पर्छ कि पानी पर्नु पर्छ,” उहाँ भन्नुहुन्छ । यस खालका समस्या बढ्दै गए पर्यटनमा गम्भीर अवस्था आउन सक्ने औँल्याउँदै उहाँले सरकारले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

जनचेतना जगाउँदै आगलागी घटाउन ध्यान दिनुपर्नेमा वातावरणविद् डा. सुवास अधिकारी जोड दिनुहुन्छ । “आगो लगाउनेलाई कारबाही गर्ने नीति बनाए, धेरै घटाउन सकिन्छ । अलार्म सिस्टम राख्ने, सानो डढेलो लाग्नेबित्तिकै निभाउन ध्यान दिने, जनचेतना जगाउने गर्नु पर्छ । जीवाश्म इन्धन प्रयोग घटाउनु पर्छ ।”जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे प्रदूषणका कारण आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका असर देखिन सक्ने बताउनुहुन्छ । “आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ,” उहाँ भन्नुहुन्छ । यस्तो बेला सकभर घरमै बस्ने, बाहिर निस्किनु परेमा मास्क लगाउने, दम, श्वासप्रश्वासका बिरामीले विशेष ख्याल गर्नुपर्ने उहाँको सुझाव छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण
२०८१ जेठ ४, शुक्रबार
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य
२०८१ जेठ ४, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार