जेठ ८, २०८१ मंगलबार May 21, 2024

दर्शनटुप्पो बन्यो विकृतिको अखडा

भ्यु टावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको स्थानीयको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर, वैशाख १९ गते । नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघि बनेको भ्यु टावर सञ्चालनमा नआउँदा दारु खाने अखडा बनेको हो ।

टावर निर्माणको काम सकिए पनि सञ्चालन गर्ने निकायको अभावमा भवन लथालिङ्ग छ । “वडालाई सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ । रेखदेख नहुँदा भ्यु टावरको गेटमा लगाएको तालासमेत फोडेर माथिल्लो तला दारु खाने अखडा भएको छ,” कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले भन्नुभयो ।

भ्यु टावर सञ्चालनको जिम्मेवारी नजिकैको जलदेवी प्राथमिक विद्यालयलाई दिनेबारे पनि छलफल चलेको थियो तर विद्यालयले राखेका सर्त नगरपालिकालाई स्विकार्य नभएपछि यो कुरा अगाडि बढ्न सकेन । उक्त विद्यालयका प्रधानाध्यापक सुमित्रा भुसालले टिकटबाट उठेको आधा रकम विद्यालयलाई र आधा नगरपालिकालाई दिने सर्त राखेपछि सुरुमा हुन्छ भनेर पनि पछि कतैबाट वास्ता नभएको बताउनुभयो ।

उहाँले भ्यु टावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको गुनासो गर्नुभयो । “राति जोडी भएर मान्छे आउँछन् । जाँड रक्सी खाएर मात्तिएर हिँड्छन् । कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा बाटोमा निस्किएका बालबालिकालाई पनि डर हुने गरी विकृति बढेको छ,” उहाँले भन्नुभयो ।

यो टावर निर्माणका लागि प्रअ भुसालले करिब पाँच कट्ठा जग्गा दिनुभएको हो । कावासोती नगरपालिकाले सो भ्यु टावर निर्माण गरेको हो । उहाँले स्थानीय नेताहरूको आग्रहमा सर्तसहित जग्गा दिएर टावर बनाइए पनि अहिले ती सर्त पालना नभएको गुनासो गर्नुभयो । प्रअ भुसालले भ्यु टावरले ओगटेको बाहेकको आफ्नो जग्गामा तारबार गरिदिने र एउटा घर निर्माण गरिदिने सर्त रहे पनि त्यो पालना नभएको बताउनुभयो ।

टावर निर्माणमा संलग्न इन्जिनियर पवन रुपाखेतीले ६० फिट अग्लो भ्यु टावर पाँचतले रहेको बताउनुभयो । अहिले टावर बेवारिसे अवस्थामा पुगेको छ । गेटमा तालासमेत लगाइएको छैन, जसले गर्दा वरिपरि लगाइएका फलामका बार काटेर लगिएको छ । नगर प्रमुख भुसालले गाउँमा खोज्दै जाँदा स्थानीयको गोठमा फलामका डन्डी भेटिएको बताउनुभयो । भित्ताका प्लास्टर उप्किन थालेको छ भने जमिन पनि धाँजा धाँजा भएर फाट्न थालेको छ ।

समुद्री सतहबाट झन्डै आठ सय मिटर उचाइमा रहेको बालुवाडाँडाबाट कावासोतीको दृश्यावलोकनका लागि टावर नै आवश्यक नरहेको ठाउँमा सो संरचना निर्माण गरिएको स्थानीय मनमाया मगरले बताउनुभयो । “टावर नहुँदा पनि दृश्य छर्लङ्गै देखिन्थ्यो । डाँडाका धेरै पाटाबाट अधिकांश स्थान देखिने ठाउँमा टावर ठड्याइएको छ,” उहाँले भन्नुभयो ।

स्थानीयका अनुसार भ्यु टावर नहुँदा पनि बालुवाडाँडाबाट चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी र दक्षिणतर्फका सबै जसो फाँट र कावासोती देख्न सकिन्छ । कावासोती बजारबाट करिब २० किलोमिटरको दुरीमा रहेको भ्यु टावर पुग्न करिब एक घण्टा लाग्छ भने सो स्थानसम्म गाडी जाने बाटो तयार भइसकेको छैन ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार