जेठ ४, २०८१ शुक्रबार May 17, 2024

आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा

पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धुलिखेल (काभ्रेपलाञ्चोक), वैशाख २० गते । बस्ने घर, ओढ्ने ओछ्याउने, लत्ताकपडा र खाने अन्नपात सबै जलेर नष्ट भएको छ । पल्लो टोलको सानो धारामा प्लाष्टिकको बोतलमा पानी थापेर बसिरहेका रञ्जिता तामाङ र रजनी तामाङ भने टन्टलापुर घाममा पिउनका लागि पानी जोहो गरिरहनुभएको छ । बिहान पढ्नका लागि विद्यालय गएका उहाँहरू बेलुका घर फर्किँदा सबै जलेर उराठ भएपछि बिचल्लीमा हुनुहुन्छ ।

जोगेश्वर माविमा कक्षा ६ मा अध्ययनरत रजनी र रङ्गिन प्राविमा कक्षा ३ मा अध्ययनरत रञ्जिता १७ महिनाको सानो भाइ र आमासहित चारजना दुई दिनदेखि टोलबाट अलि परको अर्को घरमा आश्रय लिइरहनुभएको छ । “विद्यालय जाने बेलामा परेकाले पढ्ने किताब कापी त हामीसँगै छ”, रजनीले भन्नुभयो, “खाने अन्न, सुत्ने ओछ्यान र लगाउने कपडा सबै डढेर सखाप भएको छ, अलिअलि भएको बिस्कुट र चाउचाउ खाएर बसेका छौँ ।” बाबा विदेशमा भएकाले आफूहरू चारजना अर्कै घरमा सरेर बसेको दुवै जनाले सुनाउनुभयो ।

सोही गाउँका माथिल्लो टोलका सत्यलाल तामाङले घरभित्र जलिरहेको दलिनको ठुटोको प्वालबाट निस्किरहेको धुवाँ नियाल्दै भन्नुभयो, “यो घरलाई जोगाउन सकिएन, तल्लोपट्टि रहेको एउटा घरलाई भने नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर पानी छर्केरै भए पनि जोगाउन सफल भइयो, अहिले त्यही बसिरहेका छौँ ।” जिउमा लगाउने कपडाबाहेक भएभरको सामान निकाल्न नभ्याएपछि विपद् व्यवस्थापन समिति र सहयोगी सङ्घसंस्थाले दिएको राहतको भरमा चलिरहेको उहाँले बताउनुभयो ।

सोही ठाउँका अर्का पीडित कान्छीमाया तामाङले एक्कासि भएको आगलागीका कारण घरभित्र भएको सबै जलेपछि केही निकाल्न नपाएको बताउनुभयो । “अहिले के गर्ने कस्तो गर्ने भन्नेमा अन्योल छ”, उहाँले भन्नुभयो, “सबैको सरसहयोग रहे पनि हामी भने अलमलमै छौँ ।”

काभ्रेपलान्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर जलेर नष्ट भएपछि यहाँको सिङ्गो तामाङ बस्ती नै बिचल्लीमा छन् । गाउँ नजिकै भएको सामुदायिक वनमा भएको आगलागीबाट सिङ्गो गाउँ नै सखाप हुनेगरी जलेपछि अहिले सो ठाउँमा वडा, गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समितिदेखि विभिन्न सङ्घसंस्थाले सहयोग गर्दै आइरहेको छ ।

पीडामा परेका परिवारलाई राहतदेखि सान्त्वना प्रदान गर्न सानोपोटामा आफन्त र सहयोगी हातहरूको उपस्थिति हुने क्रम निरन्तर छ । घरभित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै जलेपछि बिचल्लीमा परेका यहाँका बासिन्दा राहतको भरमा छन् भने दैनिक कायममा समेत फर्कन सकेका छैनन् ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले घटना भएपछि स्थानीय विपद् व्यवस्थापन समिति निरन्तर रूपमा सहयोगका लागि परिचालन भइरहेको बताउनुभयो । तत्कालीन रूपमा राहत उपलब्ध गराउन गाउँपालिकाले बुधबार दुई बोरा चामल, दाल, मेष्ट्रिस, नुन, तेल वितरण गरेको उहाँले बताउनुभयो । त्यस्तै नेपाल रेडक्रस र अन्य सङ्घसंस्थाको सहयोग पनि जारी रहेको समितिले जनाएको छ । त्यससँगै खानेपानीको पाइप जलेर समस्या भएको खानेपानीको आपूर्तिका लागि पालिका लागिरहेको र दीर्घकालीन व्यवस्थापन तथा पुनः स्थापना गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष लामाले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले बुधबार स्थलगत अनुगमन गर्दै जिल्लामा एकैपटक धेरै घर जलेको पहिलोपटक भएको जनाएको छ । घटनापश्चात् तत्कालीन राहत तथा व्यवस्थापनका लागि काम भइरहेको र दीर्घकालीन व्यवस्थापनका लागि भएकोलाई मर्मत गर्ने तथा केहीलाई पुनर्निर्माण गर्नुपर्ने हुनसक्ने भएकाले प्राविधिक टोलीबाट क्षतिको पूर्ण विवरण आइसकेपछि तीनै तहका सरकारको सहयोगमा निजी आवास पुनर्निर्माण अनुदानभित्र रहेर व्यवस्थापन गर्न पर्यन्त गरिने उहाँले बताउनुभयो ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार आगलागीबाट रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ तथा चार शौचालय जलेर नष्ट भएका र अझै विस्तृत विवरण आउन बाँकी रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
२०८१ जेठ ४, शुक्रबार
न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
२०८१ जेठ ४, शुक्रबार
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : परराष्ट्रमन्त्री श्रेष्ठ
२०८१ जेठ ४, शुक्रबार
विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल
२०८१ जेठ ४, शुक्रबार
एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक
२०८१ जेठ ४, शुक्रबार
एलियन बने कार्तिक आर्यन
२०८१ जेठ ४, शुक्रबार