असार २२, २०८२ आइतबार July 6, 2025

एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)

अत्तालिएर, आवेग र उत्तेजनामा आएर गरिएका निर्णयहरू सही हुँदैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

– उपचुनावको परिणामपछि मिसन ०८४ को संकेत भन्दै एमाले निकै हौसिएको देखिन्छ । दुई क्षेत्र जित्दैमा देशभरिको भविष्य अनुमान हुन्छ र ?

निर्वाचन क्षेत्रको हिसाबले दुई वटा क्षेत्रको मात्रै निर्वाचन हो । यी दुई क्षेत्रको परिणामको बारेमा विश्लेषण गर्ने हो भने यो एउटा कोशी प्रदेशको मेचीको किनार र अर्को सुदूरपश्चिम महाकालीको किनारको निर्वाचन हो । यसले सिङ्गो नेपालले के चाहिरहेको छ भन्नेको लागि यो निर्वाचनको विश्लेषण गर्न सकिन्छ ।

वैज्ञानिक, राजनैतिक र सैद्धान्तिक सबै प्रकारले यो निर्वाचनको परिणामले नेपाली जनताले के सोचिरहेका छन् भन्ने कुरा प्रस्ट भएको छ । नेकपा एमालेले भनेको लक्ष्य र उद्देश्यलाई नेपाली जनताले समर्थन गरेको सवालमा हामीले यसलाई बुझेका छौँ ।

– इलाममा एमाले अध्यक्ष ओली दुई पटक पुग्नुभो । अन्य नेताहरूको पनि बाक्लो उपस्थिति भयो । तर, बझाङमा त पदाधिकारीसम्मका नेता पनि आएनन् नि !

पार्टी र पार्टी नेतृत्वले त्यसो गरेको होइन । यो निर्वाचनमा प्रत्यक्ष मतदातासँग, पार्टीको पङ्क्तिसँग बढी जोडिएको र प्रभाव पार्न सक्ने ती नेताहरूलाई खटाउने पार्टीको मूल नीति रहेको थियो । त्यसैले इलाममा इलामसँग बढी निकट र सम्बन्ध भएको नेताहरूलाई मूल जिम्मेवारी दिइएको थियो ।

बझाङमा पनि त्यहाँ प्रभाव पार्न सक्ने नेता कार्यकर्ताहरूसँग जोड्न सक्ने नेतालाई पठाउने भन्ने कुरा थियो । पार्टीको नीतिअनुसार मलाई त्यहाँ पठाइएको हो र मैले त्यहाँ जिम्मेवारी लिएको हुँ ।

पार्टी अध्यक्षलगायत नेताहरूको इलाम आसपासकै भूगोल हो । त्यस कारणले उहाँहरू धेरै त्यहाँ लाग्नु भएको हो । यहाँ विभेद भएको होइन । इलामलाई र बझाङलाई पार्टी नेतृत्वले र अध्यक्षले महत्वका साथ हेर्नुभएको थियो ।

– निर्वाचनभन्दा पहिले ‘चुनाव जिताउनु होस् दमन भण्डारी प्रदेशको मन्त्री बन्नुहुन्छ’ भन्ने चर्चा थियो । चुनाव त जित्नु भयो । अब उहाँले कुन मन्त्रालय पाउनु हुन्छ ?

नेकपा एमालेले सरकार बनाउने प्रकारको परिस्थिति भयो भने मलाई लाग्छ पार्टीले उहाँलाई राम्रो जिम्मेवारी दिएर अगाडि बढाउन सक्छ । पार्टी नेतृत्व र सम्पूर्ण पंक्ति उहाँको विषयमा सकारात्मक छ ।

– तत्काल प्रदेश सरकारमा सहभागी नहुने एमालेले निर्णय गरेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री दीर्घ सोडारीले २१ गते विश्वासको मत लिँदै हुनुहुन्छ । अब एमालेले के गर्छ ?

२१ गते नै विश्वासको मत लिने विषयमा एमालेलाई कुनै जानकारी छैन । एमालेको केन्द्रीय नेतृत्वलाई पनि जानकारी छैन । हामी नेतृत्वमा रहेका कसैलाई पनि जानकारी छैन । उहाँले कसरी विश्वासको मत लिनुहुन्छ ? नेकपा एमालेले पछिल्लो संसदीय दलले जे निर्णय गरेको छ त्यो निर्णय यथावत् छ । त्यसपछि कुनै प्रकारको निर्णय भएको छैन ।

– मुख्यमन्त्रीले विश्वासको मत नपाउने सम्भावना हो ?

कसरी पाउनुहुन्छ ? हामीसँग सल्लाह नगरेको हुनाले मलाई त्यसबारेमा जानकारी छैन । पार्टीलाई पनि जानकारी छैन ।

– बझाङमा जित्ने दाबी गरिएका नेकपा एसको उम्मेदवारको धरौटी जोगिएन, इलाममा पनि रास्वपाको त्यस्तै अवस्था । एमाले पंक्तिमा पार्टी विजयी भएको भन्दा बढी यी कुरामा उत्साह देखियो नि !

त्यस्तो होइन, हामी हाम्रो सफलतामा केन्द्रित छौं । मतदाताहरूलाई धन्यवाद दिइरहेका छौँ । हाम्रो विजयले राष्ट्रिय सन्देश दिएको बुझिरहेका छौँ र बुझाइरहेका छौँ । अर्को कुरा, राजनैतिक दलहरू कति सतहमा छन् ? कति उडन्ते छन् ? कति जनताबाट टाढा छन् भन्ने कुरा नबुझीकन सञ्चार माध्यममा जे पनि बोलिदिने र आफूले भने पछि सबैले पत्ताउँछन् भन्ने गलत कुरालाई जनताले स्पष्ट पारेका छन् । त्यसैले आफ्नो शक्ति अनुसारको माग गर्नु पर्छ । अपिल गर्नुपर्छ ।

– बझाङमा नेकपा एसले एमालेलाई समर्थन गरेको भन्दै निर्वाचनको अघिल्लो दिन निकै चर्चा भयो । पछि उक्त पार्टीका जिम्मेवार नेताहरूले खण्डन नै गर्नु परेको थियो । निर्वाचन जित्नको लागि तपाईँहरूको रणनीति थियो त त्यो ?

सहमति गर्ने जिम्मा नै पार्टीको नेतृत्वले मलाई दिएको थियो । म र नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य संघीय मन्त्री भानुभक्त जोशीको बीचमा छलफल भएको थियो । हाम्रो महासचिव र नेकपा एसको महासचिवको बीचमा पनि छलफल भएको थियो, कुरा भएको थियो । त्यो छलफलको बीचमा नेकपा एसको महासचिव घनश्याम भुसालजीसँग पनि मैले कुरा गरेँ, भानुभक्तजीले पनि कुरा गर्नुभयो ।

दुवैको बीचमा सहमति भएर समाजवादीको उम्मेदवारको भोलि व्यवस्थापन गर्ने कुरा हामी गरौँला । त्यहाँ एमालेले जित्नु पर्छ । त्यो जितका कारणले गर्दा प्रदेशमा सरकार बन्छ भन्ने कुरा उहाँसँग स्पष्ट सहमति भएको हो । त्यो सहमति भएपछि हामीले तल जानकारी गरायौँ । त्यो बीचमा हाम्रो पार्टीको केन्द्रीय सदस्य ऐन महरजीले ‘बझाङको समाजवादीलाई धन्यवाद सहमति सहकार्य र एकता भनेर उहाँले हाल्नुभयो ।’

जसले हामीसँग सहमति गर्नुभयो उहाँहरूले हामीलाई धोका दिनुभयो । उहाँहरूबाट कुनै सहयोग भएन । हामीलाई हराउने कांग्रेसलाई जिताउने गरी त्यहाँका सबै नेताहरूले भूमिका खेल्नुभयो । भएको सहमतिलाई होइन भनेर सुदूरपश्चिमको इन्चार्ज गरिमा शाहले विज्ञप्ति निकाल्नुभयो । त्यहाँको सचिवको विज्ञप्ति आयो । भानुभक्तजीको आफ्नै फेसबुक स्ट्याटस पनि आयो । भने पछि यो धोका हो । यो षड्यन्त्र हो । यो षड्यन्त्र बझाङी जनताले राम्रोसँग बुझेका छन् ।

– भनेपछि नेकपा एसले एमाले हराउनेगरी भूमिका खेलेको तपाईँको आरोप छ । नेकपा एकीकृत समाजवादीको सरकार जोगाउन एमाले भूमिका खेल्छ ?

यत्रो लडाइँ लडेर, संघर्ष गरेर जितेको आफ्नो प्रतिनिधिले हाम्रो भावना विपरीत कुनै पनि ढंगले प्रयोग नहोस् भन्ने मतदाताहरूको आग्रह छ । हिजो मलाई त्यहाँबाट बिदाई गरेर पठाउने बेलामा सयौँ कार्यकर्ताहरूले ‘हाम्रो भावना विपरीत काम नहोस् , हाम्रो मतको कदर होस् , हामीलाई हराउन लाग्नेहरूलाई साथ भएपछि हाम्रो मर्ममा चोट लाग्छ हामी त्यो सहन गर्ने पक्षमा छैनौँ’ भनेर मतदाता र कार्यकर्ताहरुले भन्नु भएको छ ।

– अन्तिममा, एमाले नेता भीम रावलसँग संवादका लागि तपाईँसहितको कार्यदल तयार भएको थियो नि ! खै त कार्यदलको काम ? उता भीम रावल डिलमा पुगेको भन्दै पार्टी छोड्ने संकेत गर्न थालिसक्नु भयो ।

हामीले कार्यदलबाट सम्पूर्ण काम सम्पन्न गरिसकेका हौं । पार्टीको अध्यक्षसँग उहाँको भेट पनि भएको हो । कुराहरू पनि भएको हो । अब पार्टी अध्यक्ष र उहाँबीच छलफल भएर उहाँले के जिम्मा प्राप्त गर्नुहुन्छ त्यो दुईजनाले टुंगो लगाउँदा हुन्छ ।

यसमा मेरो सुझाव के छ भने, भीम रावललाई उहाँले कुनै पनि अप्रिय निर्णय गर्नुहुँदैन । अत्तालिएर, आवेग र उत्तेजनामा आएर गरिएका निर्णयहरू सही हुँदैनन् । त्यस्तो बेलामा कुनै निर्णय गर्नुहुँदैन ।

नेकपा एमालेभित्र उहाँको स्थान छ । एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहिरहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु । हामी पनि उहाँले यहीँ रहेर काम गरेर अगाडि बढ्नुहोस् भन्ने पक्षमा छौं । अरू कुरा चाहिँ पार्टीका नेतृत्व तहबाट जे निर्णय हुन्छ त्यही निर्णयअनुसार अगाडि बढ्नुपर्छ । उहाँले पार्टी अध्यक्षसँग गएर मलाई कामको जिम्मा दिनुपर्‍यो, तपाईँसँग कुरा भइसकेको हो भनेर आफैँ गएर त्यो भन्नु उचित हुन्छ जस्तो मलाई लाग्छ ।नेपालप्रेस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार