चैत्र १३, २०८१ बुधबार March 26, 2025

युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : महासचिव पोखरेल

युवाले सङ्कल्प नगरेसम्म देश विकास नहुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउने सङ्कल्पसहित युवा अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले युवाले सङ्कल्प नगरेसम्म देश विकास नहुनेसमेत बताउनुभयो ।

उहाँले आफ्नो पार्टीमा आबद्ध युवालाई समाज बदल्ने पार्टीका अभियानमा कटिबद्ध भएर लाग्नसमेत आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो, “देश बनाउने बेलामा देश छाड्ने युवाको लर्को धेरै छ, यो बेला देशलाई देश छाड्नेभन्दा देश बनाउने युवाको आवश्यकता छ । त्यसैले आम युवालगायत नेकपा (एमाले)मा आबद्ध सबै युवालाई देश बनाउने सङ्कल्पसहित अगाडि बढ्न आग्रह गर्दछु ।”

जनताले समस्या पर्दा पार्टीलाई नभई युट्युबर र अभियन्तालाई खोज्ने अवस्था सृजना भइरहेको भन्दै उहाँले पार्टीलाई जनतासँग जोड्ने एजेण्डा लिएर जनताको घरदैलोमा जान आवश्यक रहेको समेत बताउनुभयो ।  यस्तै, ‘मिसन ८४’ सफल पार्न जनतासँग नजिक रहेर काम गर्न पनि उहाँको आग्रह थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोमप्रसाद मिश्र, तुलसा दाहाल, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष वासुदेव थापा, सचिव मोहनबीर श्रेष्ठलगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा मध्यपुरथिमिमा जिब्रो छेडेर संस्कृति जोगाउन लाग्ने सुजन बागश्रेष्ठलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया