श्रावण १२, २०८१ शनिबार July 27, 2024

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागती खेतीमा

बाँदरले दुःख दिएकै कारण खेती गर्ने क्रम बर्सेनि कम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, जेठ ७ गते । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागती खेती गर्न थालेका छन् । जनशक्ति, मलखाद, कृषि पूर्वाधारको अभावका बिच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागती खेती गर्न थालेका हुन् ।

केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि  पोखरा महानगरपालिकाका वडा नम्बर १८, १९, २१, २२, २६, ३१, ३३ लगायतका स्थानका किसान धानखेती छोड्न बाध्य भएका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाको वडा नम्बर ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्ने क्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बुताउनुहुन्छ ।

“फाँट तिर जेनतेन धानखेती भइरहे पनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्”, उहाँले भन्नुभयो, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।” वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । आफूहरुले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका-२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागती खेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिनुभयो । “खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतङ्कका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागती खेती गर्न थालेका छौँ ।” कागती खेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रूपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागती खेती सुरु गरेका छन् ।

त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तीमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म  ५० लाखभन्दा बढी लगानी भइसकेको छ । “हामीले सुरूमा वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ”, अधिकारीले भन्नुभयो, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।”

सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताउनुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उहाँको बुझाइ छ । महानगर कृषि महाशाखा प्रमुख कडरिया पनि बाँझा जग्गामा कागती खेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुहुन्छ ।

कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागती खेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उहाँले बताउनुभयो । “कृषकलाई बाँझा जग्गामा कागती खेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्न सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार