पर्वत- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ एकाइ पर्वतले पाँच ठाउँमा जेठोबुढो धानको बीउ उत्पादन शुरु गरेको छ ।
एकाइले धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न शुरु गरेको हो ।
पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेण्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको बिस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताउनुभयो । बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया