असार ९, २०८१ आइतबार June 23, 2024

सत्ता समीकरणमा माधव नेपालको अर्थपूर्ण असन्तुष्टि

सत्ता समीकरणमा चर्को असन्तुष्टि जनाइरहेका अध्यक्ष नेपाल पार्टीभित्रै भने कमजोर बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सत्ता सहयात्री दलहरूसँग सुरुवातदेखि नै असन्तुष्ट छन्। कम्युनिष्ट पार्टीकै बाहुल्यता रहेको सत्ता समीकरणमा अध्यक्ष नेपालले सहयात्रीकै चर्को विरोध गरिरहेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित प्रदेश र संघ सरकारमा सामेल अध्यक्ष नेपालको विरोध भने अर्थपूर्ण छ। उनी नेतृत्वको एकीकृत समाजवादीको संसद्मा १० सिट मात्रै छ। तर, नेपालको आक्रोश भने अनौठो छ।

उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत आलोचना गरिरहेका छन्। गत फागुनमा नयाँ सत्ता समीकरण बन्दा ओली-प्रचण्डले नेपाललाई पनि एक कार्यकाल प्रधानमन्त्री दिने सहमति गरेको बताइन्छ।

तर, अहिले आएर आफूले प्रधानमन्त्री नपाउने देखेपछि अध्यक्ष नेपालले आक्रोश पोख्न थालेको कतिपयको टिप्पणी छ। त्यसका लागि उहाँ वर्तमान समीकरणबाट बाहिरिएर विपक्षी गठबन्धनमा सामेल हुने सम्मको तयारी गरेका थिए।

सत्ता समीकरणमा रहेर विपक्षी नेपाली कांग्रेससँग निरन्तर संवादमा रहेका नेपाल जसपा नेपाल विभाजन भएपछि भने ब्याक भएका हुन्। तथापि, त्यसपछि पनि उनी कांग्रेस सम्मिलित विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका थिए।

त्यसयता फेरि उनले समीकरणमा सामेल दलहरूको विरोध गर्न थालेका छन्। आफ्नो पार्टीप्रति प्रचण्ड सकारात्मक भए पनि ओली भने मुर्मरिरहेको बताए। ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको थिएँ- ल हेर्नुस्, प्रचण्डजीको भूमिका पोजेटिभ छ, तपाईंको पनि यस्तै पोजेटिभ हुनुपर्छ। उहाँ सुनेर बस्नुहुँदो रहेछ ज्यादा। चित्त नबुझेर होला, भित्रभित्रै मुर्मुरिएर पनि होला । मुर्मुरिने काम गर्नु हुँदैन,’ अध्यक्ष नेपालले भने।

सत्तामै रहेर नेपालले निरन्तर समीकरणमा रहेका दल र नेताहरूको विरोध गरेपछि एमाले अध्यक्ष ओलीले सरकारमा नेतृत्व गरेका पार्टीहरू नै प्रतिपक्ष जस्तो देखिएको टिप्पणी गरेका थिए। सामान्यतया सरकारमा सामेल दलहरूले खुलेर एक-अर्काको आलोचना गरेका छैनन्। एमालेबाट विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत औचित्य पुष्टि गर्न नसकेको आरोपसमेत नेपालमाथि लाग्दै आएको छ।

पार्टीभित्रै झलनाथको चुनौती

सत्ता समीकरणमा चर्को असन्तुष्टि जनाइरहेका अध्यक्ष नेपाल पार्टीभित्रै भने कमजोर बन्दै गएका छन्। उनलाई सम्मानित नेता झलनाथ खनालले निरन्तर चुनौती दिइरेका छन्।

पार्टीका आन्तरिक बैठकमा नेपाललाई चुनौती दिइरहेका नेता खानलले आउँदो महाधिवेशनमै टक्कर दिने तयारी गरेका छन्। एकीकृत समाजवादीले आगामी असार (१६-२०) मा १०औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनमा नेता खानलले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। अध्यक्ष नेपाल दोहोरिने दाउमा छन्। फेरि अध्यक्षमा दोहोरिन नेपालले भित्रभित्रै तयारी तीव्र पारेका छन्।

तर, नीति र नेतृत्वको विषयमा खनालले नेपाललाई चुनौती दिइरहेका छन्। नेतृत्वका लागि अध्यक्ष नेपाल र नेता खनालबीच खुला रूपमै तयारी चलिरहेको छ। खनाल र नेपालबीच पार्टी नेतृत्वको विषयमा मात्रै नभई सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा समेत एकमत छैन। नेता खनालले वाम सहकार्यलाई जोड दिँदै आएका छन्। तर, नेपाल भने दोधारमै जस्तो देखिएका छन्।

तत्कालीन एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा एमालेका वर्तमान अध्यक्ष केपी ओलीलाई पराजित गरी खनाल पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष भएका थिए। २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि महासचिव हुनुभएका नेपाल २०६४ सालसम्म नेतृत्वमा थिए। संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुवै क्षेत्रमा पराजित भएपछि उनले राजीनामा दिएका थिए।

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छन्। शनिबार केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए।आजको हिमालय टाइम्स दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युराे कपमा आज स्विट्जरल्यान्ड र जर्मनी तथा स्कटल्यान्ड र हङ्गेरी खेल्दै
२०८१ असार १०, सोमबार
कर्णाली नदीमा पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेन
२०८१ असार ९, आइतबार
कित त्यागे सुशील प्याकुरेलले राजदुत पद ?
२०८१ असार ९, आइतबार
लीलादेवी गतडौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी
२०८१ असार ९, आइतबार
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु
२०८१ असार ९, आइतबार
लोकतन्त्रका लाभहरु सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री
२०८१ असार ९, आइतबार
आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको संयोजकत्वमा समिति गठन
२०८१ असार ९, आइतबार