असार १०, २०८१ सोमबार June 24, 2024

खुम्चियो प्रदेशको बजेट

प्रदेश सरकार गठन भएको सात वर्ष पूरा हुँदा पनि प्रदेश सरकारहरूले आन्तरिक राजस्व बढाउन सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २ गते । आन्तरिक स्रोत बढ्न नसकेको र सङ्घीय अनुदानसमेत घटेपछि अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को आय तथा व्ययको अनुमान (बजेट) घटाएका छन् । सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेट चालु आवको तुलनामा केही घटाएर ल्याउनुभएको हो ।

असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार ल्याइएको सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो ।

आगामी आर्थिक वर्षका लागि सबै 

प्रदेशले कुल दुई खर्ब ७८ अर्ब ७० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले कम हो । चालु आवका लागि प्रदेशले दुई खर्ब ८० अर्ब ४० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका थिए । खास गरी आन्तरिक स्रोत परिचालनमार्फत राजस्व सङ्कलन बढ्ने अवस्था नदेखिएको र सङ्घले कतिपय शीर्षकका अनुदान नै

कटाएपछि बजेटको आकार घटाउनुपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले जनाएका छन् ।

ठुलो बागमतीको, सानो कर्णालीको 

चालु आवमा ३६ अर्ब ७४ करोड रुपियाँको बजेट ल्याएको कोशी प्रदेशले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । त्यस्तै मधेश प्रदेशले पनि चालु आवको करिब २२ करोड रुपियाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपियाँको बजेट ल्याएको छ ।

सबैभन्दा ठुलो आकारको बजेट प्र्रस्तुत गरेको बागमती प्रदेशले भने बजेट बढाएको छ । बागमतीले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो जुन चालु आवको तुलनामा करिब दुई अर्ब रुपियाँले बढी हो । चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

गण्डकी प्रदेशले पनि चालु आवको तुलनामा करिब एक अर्ब रुपियाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । चालु आवमा गण्डकी प्रदेशले ३३ अर्ब ८२ करोड रुपियाँको बजेट ल्याएको थियो । लुम्बिनी प्रदेशले चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । कर्णाली सरकारले पनि दुई अर्बले बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपियाँको बजेट ल्याएको छ । चालु आवमा कर्णालीले ३३ अर्ब ३७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।

आगामी आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले भने आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपियाँ पु¥याएको छ । चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको बजेट ल्याएको थियो ।

अनुदानकै भर 

प्रदेश सरकार गठन भएको सात वर्ष पूरा हुँदा पनि प्रदेश सरकारहरूले आन्तरिक राजस्व बढाउन नसक्दा सङ्घकै अनुदानका भरमा बजेट निर्माण गर्नुपरेको छ । बजेट निर्माणको यस्तो प्रवृत्ति आगामी आवमा पनि निरन्तरता पाएको देखिएको छ । प्रदेश सरकारहरूले खर्च जुटाउने मुख्य स्रोतका रूपमा सङ्घबाट वित्तीय हस्तान्तरण भई आउने समानीकरण, समपूरक, विशेष र ससर्त अनुदान साथै राजस्व बाँडफाँटको रकमलाई लिएका छन् । यसबाहेक चालु आवमा खर्च नभई बचत रहेको रकम पनि प्रदेश सरकारहरूले ठुलो खर्च स्रोतका रूपमा गणना गरेका छन् ।

प्राथमिकतामा पूर्वाधार र उद्यमशीलता

प्रदेशहरूले आफ्नो आवश्यकता र अनुकूलतामा बजेटमा प्राथमिकता क्षेत्र निर्धारण गरेका छन् । सबै प्रदेश सरकारको मुख्य प्राथमिकता भने पूर्वाधार निर्माण र उद्यमशीलता परेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रस्तुत गर्नुभएको बजेटमा सडक पूर्वाधार, खानेपानी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन् । मधेश प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद शाहले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेटले सडक निर्माण र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले प्रस्तुत गर्नुभएको बजेटले कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाउन कृषि र पर्यटनलक्षित कार्यक्रमका लागि इन्भेस्ट गण्डकी कार्यक्रम सञ्चालन गर्ने भएको छ । बजेटमा विगतकै कार्यक्रमलाई निरन्तरता दिएको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले कृषिलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले प्रस्तुत गर्नुभएको बजेटले आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशीलता विकासलाई प्रमुख प्राथमिकता तय गरेको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रस्तुत गर्नुभएको बजेटले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर कुल बजेटको एक तिहाइ बजेट विनियोजन गरेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाको भिषण आक्रमण छिट्टै सकिन्छ : नेतन्याहु
२०८१ असार १०, सोमबार
यमनका हुथी विद्रोही फेरी सक्रिय
२०८१ असार १०, सोमबार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा पाँच अर्बमाथिको कारोबार
२०८१ असार १०, सोमबार
एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण
२०८१ असार १०, सोमबार
प्रतिनिधिसभा बैठक : किसानलाई समयमै मलको व्यवस्था गर्न माग
२०८१ असार १०, सोमबार
राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्न गृह मन्त्रालयको निर्देशन (विज्ञप्ती हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो
२०८१ असार १०, सोमबार