असार २९, २०८२ आइतबार July 13, 2025

पर्यटकको आवरणमा अपराध

पर्यटकका रूपमा आउने विदेशी आपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ३ गते । जेठ १८ गते काठमाडौँको ठमेल क्षेत्रबाट नौ जना विदेशी महिला पक्राउ परे । पर्यटक भिसामा नेपाल आएका उनीहरूले ठमेलमा वेश्यावृत्ति गर्ने तथा सडक यात्रा गरिरहेका आन्तरिक तथा विदेशी पर्यटकलाई अश्लील क्रियाकलापमार्फत हैरानी दिन थालेपछि प्रहरीले पक्राउ गरेको दाबी गरेको छ ।

पक्राउ परेका युगान्डाका भिओला नाकासाङ्गो किसम्बिरा, राहेल नमुद्दु, सारा नमाता किवानुका, सरिफा सेमिटेगो, रोबिना नाक्याज्जे, नसाङ्गी रिचेल, ज्याकलाइन नकन्दह, भेनेसा नमुतेबी र केन्याकी हेलेन अधियाम्बोलाई प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यसअघि गत चैत १७ गते वीरगन्जबाट चिनियाँ नागरिक लियु गुई काई, वाङ बोहान र जियाङ जियाओ पक्राउ परेका थिए । हुआन प्रान्तका उनीहरूले वीरगन्ज–१५ नन्दु पटेलको घरमा बसी अनलाइन चिठ्ठा र अनलाइन सपिङको प्रलोभन देखाएर भारतीय नागरिकलाई लक्ष्य गरी ठगी गर्ने र पाकिस्तानी नागरिकको खातामा रकम पठाउन लगाउने गरेको अनुसन्धानबाट खुलेको थियो ।

तीन जनाको साथबाट प्रहरीले कम्प्युटर १२० थान, मोबाइल ३५ थान, सिमकार्ड १३ थान, ल्यापटप चार थान, प्रिन्टर एक थान, विभिन्न बैङ्कका एटिएम कार्ड तीन थान बरामद गरेसँगै अनलाइन ठगीको र्‍याकेटै चलाएको प्रहरीको दाबी छ ।  अर्को एक घटनामा क्यानडा पठाइदिने प्रलोभन देखाएर ठमेलको सिस्टर होम होटलमा बन्धक बनाएका तीन जना श्रीलङ्काली नागरिकलाई प्रहरीले गत चैत २२ गते काठमाडौँको ठमेलबाट उद्धार गर्‍यो ।

बन्धक बनाउने पाकिस्तानी नागरिक जुबेर अमजाद, सजेहान तनबिर, मलिक अब्दुल हमिद र अरिफ मसी पक्राउ परे । यसमा संलग्न पाकिस्तानी मुरताजा असगर अली, श्रीलङ्काली मोहमदु मुसरिफ र भारतीय नितिनकुमार शर्मा भने फरार भए । पीडितलाई श्रीलङ्काबाट भियतनाम र भारत हुँदै काठमाडौँसम्म ल्याई बन्धक बनाएर फिरौती मागिएको सूचनापछि प्रहरीले सो होटलमा छापा मारेको थियो ।

त्यस्तै अमेरिका पठाउने सपना देखाई काठमाडौँमा ल्याई बन्धक बनाइएका ११ जना भारतीय नागरिकलाई प्रहरीले गत फागुन ३ गते उद्धार गर्‍यो । ४० देखि ४५ लाख भारतीय रुपियाँ लिई नेपालबाट मेक्सिको हुँदै अमेरिका लैजाने प्रलोभनमा पारी काठमाडौँमा ल्याएर फिरौती माग्ने भारतीय नागरिक अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनीषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सबिर मियाँविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार, पर्यटकका रूपमा आउने विदेशी आपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढ्दो छ । प्रहरी मुख्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ मा गैरकानुनी क्रियाकलापमा संलग्न २४ देशका ४३ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । जसमा १४ जना चिनियाँ, पाँच जना भारतीयलगायत अन्य देशका थिए ।

आव २०७७/७८ मा ४३६ भारतीय, १३ चिनियाँ, दुई बङ्गाली, दुई फ्रान्सेली गरी १४ देशका ४७५ जना जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसै गरी आव २०७८७९ मा ६७३ भारतीय, १६ चिनियाँ, १३ बङ्गलादेशी, ११ अफगानी गरी १३ देशका ५५२ जनाविरुद्ध मुद्दा चलाइएको थियो । आव २०७९/८० मा ५१ भारतीय, ४२ चिनियाँ, १२ अमेरिकी, नौ बङ्गाली गरी १८३ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

आव २०८०/८१ को वैशाखसम्म ३९ भारतीय, १५ चिनियाँ, आठ जना बङ्गलादेशी, आठ क्यानडाली गरी गैरकानुनी क्रियाकलापमा संलग्न १०२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्की नेपालमा पछिल्लो समय पर्यटकको वृद्धिसँगै आपराधिक क्रियाकलापसमेत वृद्धि भएको बताउनुहुन्छ । पर्यटकका रूपमा आउने कतिपयले नेपालमा बसेर अवैध कल बाइपास, अनलाइन ठगी, अवैध सट्टेबाजी, विदेशी मुद्राको अवैध कारोबार, लागुऔषध ओसारपसार गर्ने क्रम बढेको उहाँले जानकारी दिनुभयो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार