असार १२, २०८१ बुधबार June 26, 2024

मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा प्रधानमन्त्री

मालदार मन्त्रालयमा दाबी बढाउँदै एमाले, सीके राउतले मागे उपप्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल फर्कने बित्तिकै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । युरोप भ्रमणमा रहेका राष्ट्रपति पौडेल ५ असारमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका बारेमा सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बालुवाटार स्रोतको दाबी छ ।

अहिले सरकारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा ल्याउने बारेमा छलफल गरिरहेका छन् । सरकारमा जाँदा आफूलाई उपप्रधामन्त्रीसहितको पोर्टफोलियो दिनुपर्ने सर्त राउतको छ । मधेस प्रदेशमा मुख्यमन्त्री पाएको जनमतले उपप्रधानमन्त्री नपाए राउतले पार्टीबाट अरू नेतालाई पठाउने बुझिएको छ ।

जनमत र नाउपा पार्टीलाई एक–एक मन्त्रालयको जिम्मेवारी दिइँदै छ । त्यसका लागि माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितराज तामाङलाई फिर्ता बोलाउने भएको छ । प्रधानमन्त्री प्रचण्डलाई अर्थमन्त्री वर्षमान पुनबाहेक माओवादी केन्द्रबाट मन्त्री भएका सबैलाई फिर्ता बोलाई नयाँलाई अवसर दिनुपर्ने दबाबसमेत रहेको छ ।

यस्तै, एमालेले कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमध्ये एकलाई फिर्ता बोलाउँदै छ । एमाले केही मन्त्रालय हेरफेर गर्नुपर्ने पक्षमा रहेको छ । परराष्ट्र, स्वास्थ्यसहितका मन्त्रालय एमालेले साटफेर गर्न खोजेको छ । एमालेसँग भएका केही मन्त्रालय छोडेर यी मन्त्रालय लिने रणनीतिमा एमाले रहेको छ ।

नाउपाकी अध्यक्ष श्रेष्ठले पर्यटनमन्त्री आफूले पाउन लागेको जनाएकी छन् । ‘मसँग भएको छलफलमा पर्यटन मन्त्रालय हामीलाई दिने कुरा भएको छ,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘७ असारपछि मन्त्रिमण्डल पुनर्गठन हुने सूचना छ, राष्ट्रपति नेपाल फर्किएपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।’

अहिले संसद्मा बजेटमाथि छलफल जारी छ । बजेटप्रति सत्तारूढ दल एमाले, रास्वपाकै नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका हुन् । एमालेको दबाबकै कारण प्रधानमन्त्री प्रचण्ड केही मन्त्रालयसमेत हेरफेर गर्ने तयारीमा छन् ।

आफ्नै पार्टी माओवादी केन्द्रको दबाब झेलिरहेका प्रचण्डले एमालेसँग केही मन्त्रालय हेरफेर गर्ने र पार्टीका तर्फबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिने ’boutमा पार्टीका पदाधिकारीकारीसँग छलफल थालेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया