असार २२, २०८२ आइतबार July 6, 2025

नयाँ क्रान्तिकारी, सक्षम र गतिशील नेतृत्व निर्माण गर्न अझै अहं भूमिका निर्वाह गर्नुपर्नेछ : पूर्वप्रधानमन्त्री, झलनाथ खनाल (अन्तवार्ता)

पार्टीभित्र असाध्यै दूषित, बेसर्वहारा विचारको बाढी पसेको छ, अहिले सिंगो कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी यथास्थितिवाद हाबी छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमालेबाट विद्रोह गरेर पहिलोपटक एकीकृत समाजवादीले महाधिवेशन गर्दैछ । तर, दसौँ महाधिवेशन भनिएको छ । कस्तो लाग्दै छ ?

एकीकृत समाजवादी क. पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरता हो । हामीले माले कालमा महाधिवेशन गर्दा पनि पहिलो नभनेर चौथो भनेका थियौँ । किनकि, त्यो पनि पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टीकै निरन्तरता थियो । अहिले पनि हामीले एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेकाले १०औँ महाधिवेशन भनिएको हो । नवौँ महाधिवेशन हामीले नै आयोजना गरेका थियौँ । त्यही कारण यही असार १६ गते हामी भव्यताका साथ १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्नेछौैँ ।

यो महाधिवेशन हाम्रो पार्टीको र नेपाली कम्युनिस्ट आन्दोलनकै इतिहासमा महत्वपूर्ण हुनेछ । त्यसले अन्य दस्ताबेजहरूका अतिरिक्त नेपालको समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रमसमेत पारित गर्नेछ । जुन कार्यक्रमले पार्टी र समाजवादी क्रान्तिलाई सिंगो कालखण्डभरि मार्गदर्शन गर्नेछ । यसैका आधारमा हाम्रो पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरू अझ परिष्कृत र परिमार्जित हुँदै जानेछन् । त्यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई सर्वदा नयाँ उचाइमा उठाउनेछ ।

तपाईं युवा अवस्थामै पार्टी नेतृत्व गरेर आउनुभयो । पछि एमालेको अध्यक्ष भएर पनि पार्टी हाँक्नुभयो । देशको प्रधानमन्त्री पनि भइसक्नुभयो । अहिले फेरि एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीमा अध्यक्षको दाबी गरिरहनु भएको छ । पार्टीलाई दिशानिर्देश गर्न के बाँकी छ ?

०६२/०६३ को क्रान्तिपछि हामीले समाजवादी क्रान्तिको युगमा आयौँ भन्यौँ । तर, १८ वर्ष पार हुन लाग्यो, परिवर्तित परिस्थितिको ठोस विश्लेषण गर्ने र समाजवादी क्रान्तिका कार्यक्रमका कार्यदिशा, नीति, सिद्धान्त र कार्यक्रम प्रस्तुत गर्ने कुरामा अहिलेसम्म पनि ढिलाइ भइरहेको अवस्था छ । बल्ल हामी यो महाधिवेशनमार्फत हाम्रो पार्टीको क्रान्तिसम्बन्धी कार्यक्रम, कार्यदिशा, नीति, सिद्धान्त र विधिविधान अगाडि सार्दै छौँ । समाजवादी क्रान्तिको कार्यक्रम अघि सार्दै गर्दा पार्टीभित्र होस् या बाहिर, हामी दक्षिणपन्थी यथास्थितिवादविरुद्ध वैचारिक संघर्ष गर्दै छौँ । त्यो वैचारिक रूपान्तरण गर्ने क्रममा हामीले जुन ढंगले भूमिका निर्वाह गर्दै आइरहेका छौँ, अहिले कम्युनिस्ट आन्दोलनले जसरी वैचारिक, राजनीतिक र सैद्धान्तिक चुनौतीको सामना गरिरहेको छ, त्यसलाई हेर्दा मैले सक्रिय रूपमा भूमिका खेल्नुपर्ने आवश्यकता छ । तसर्थ, मैले यसपटक महाधिवेशनबाट त्यो जिम्मेवारी लिन पहल गर्ने सोचिरहेको छु ।

नेतृत्व नवीकरण, हस्तान्तरण र पुस्तान्तरणका कुरा उठिरहेका छन् । यसअघि एमालेको नवौँ महाधिवेशनमा पनि पुस्तान्तरणको विषय जोडतोडले उठेको थियो । यो महाधिवेशनले के गर्छ ?

पुस्तान्तरणको हल्ला निकै चलेको छ । तर, पुस्तान्तरण त एउटा प्राकृतिक प्रक्रिया हो । त्यो कुनै खास वेलाको खास समयको एजेन्डा होइन । पुस्तान्तरण भनिरहँदा यो कुनै माक्र्सवादी प्रक्रिया पनि होइन । यो आफैँमा वर्गीय र राजनीतिक प्रक्रिया पनि होइन । पुस्तान्तरण आमरूपमा समाजमा भइरहन्छ । क. पुष्पलालले पार्टी स्थापना गर्नुभयो । उहाँको पुस्ता सिद्धियो । दोस्रो पुस्ताले त्यति धेरै काम गरेन । हामी करिब–करिब तेस्रो पुस्ताका हौँ । तेस्रो पुस्ताले पार्टीमा आएको विभाजन, विखण्डनपछि फेरि पार्टीलाई पुनर्गठन गरेर यो ठाउँसम्म ल्यायौँ । अब चौथो पुस्ता (हामीपछि)ले हेर्दै छ । अब चौथो पुस्ता आउँछ । तर, अझै त्यो पुस्ता परिपक्व भएर आइसकेको छैन ।

तपाईं आफूले सुरुमा युवा अवस्थामै पार्टी नेतृत्व गर्नुभयो । अहिले आफूपछिको पुस्तालाई भने परिपक्व भइसकेको छैन भन्नुहुन्छ, किन ? 

अहिले हाम्रो पार्टीभित्रको माग र आवश्यकता पुस्तान्तरण होइन । वैचारिक र राजनीतिक रूपान्तरण हो । यो रूपान्तरणविना पुस्तान्तरण हुनै सक्दैन । वैचारिक, राजनीतिक कुरालाई प्राथमिकता दिनुको सट्टा पुस्तान्तरणले मात्रै प्राथमिकता पायो भने फेरि पनि कम्युनिस्ट आन्दोलन संकटमा पर्नुपर्ने स्थिति हुन्छ । त्यसकारण यतिवेला पहिलो कुरा भनेको वैचारिक, राजनीतिक रूपान्तरणलाई अगाडि बढाएर लानुपर्छ । यो रूपान्तरण ठीक ढंगले गर्न सकियो र पार्टीको १०औँ महाधिवेशनले ठीक नीति र ठीक नेतृत्व निर्माण गर्न सक्यो भने नयाँ पुस्ता भर्भराएर अगाडि आउँछ । त्यसपछि बल्ल पुस्तान्तरण हुन्छ । त्यो पुस्तान्तरणका लागि पहिलो काम वैचारिक, राजनीतिक रूपान्तरण नै हो ।

पुस्तान्तरणका लागि नयाँ पुस्ता तयार छैन भन्न्ने तपाईंको निष्कर्ष हो ? 

एउटा व्यक्तिलाई हामीले कुनै पदमा पुर्‍याउनु पुस्तान्तरण होइन । एउटा पुस्तालाई हामीले अगाडि बढाएर ल्यायौँ, क्रान्तिकारीकरण गरेर ल्यायौँ, रूपान्तरण गरेर ल्यायौँ भने त्योचाहिँ पुस्तान्तरण हुन्छ । पुस्तान्तरणको प्रक्रियालाई नै हामीले ठीक ढंगले बुझ्नुपर्छ । अहिले पुस्तान्तरणको आवश्यकता परेन भन्न पनि उपयुक्त हुँदैन । नयाँ पुस्ता तयार छैन भनेर पनि बुझ्न हुँदैन । अहिले हामी जुन प्रकारले वैचारिक, राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त निर्धारण गर्न खोज्दै छौँ । तदनुरूपको नेतृत्व निर्माण गरेर जानु अहिलेको आवश्यकता हो । त्यसले पुस्तान्तरणलाई सहयोग पुर्‍याउँछ ।

त्यसो भए तपाईं एक कार्यकाल नेतृत्व गरेर मात्रै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ भन्नेमा हो ? 

अहिलेको अवस्थामा आमकार्यकर्ताको आवश्यकता, चाहना र कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । र, अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक चुनौती छन् । यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यो आवश्यकता पूर्तिका निम्ति मैले आफ्नो ढंगले भूमिका खेल्नुपर्ने देखिरहेको छु । मैले महाधिवेशनबाट जिम्मेवारी लिएँ भने नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने काममा लाग्नेछु ।

नीति सामूहिक रूपमा आयो, अब नेतृत्व पनि सहमतिमै हुने सम्भावना छ कि छैन ? 

जहिले पनि पार्टीका दस्ताबेज सामूहिक बुद्धिका उपज हुन्छन् । तर, सामूहिक बुद्धिको उपज भनेको एउटा कमिटीमा जति सदस्य छन्, ती सबैले बराबरी प्रतिशत योगदान गरेर बनेका हुँदैनन् । ती कमिटीभित्र पनि कसैको लिड रोल हुन्छ । कसैको प्रतिपक्ष भूमिका पनि हुन्छ । प्रतिपक्ष भूमिका खेल्ने पनि कोही खास परिस्थितिमा रूपान्तरित हुन्छन् । तर, त्यो विचार निर्माण गर्ने काममा नेतृत्वदायी भूमिका कसले खेल्यो भन्ने हुन्छ । विचार निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने जहिले पनि हुन्छन् । विचार निर्माणमा सबभन्दा महत्वपूर्ण भूमिका जसले खेलेको हुन्छ, ऊ नै त्यो कमिटीको नेता हुन्छ । कमिटीको नेता निर्माण गर्ने कुरा भनेको त्यो कमिटीलाई निर्माण गर्ने कुरामा, वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रूपले रूपान्तरण गर्ने कुरामा जुन व्यक्तिले सबभन्दा बढी भूमिका खेल्छ र नेतृत्वकारी योगदान गर्छ, त्यो नै कमिटीको नेता हुन्छ । त्यसकारण नेतृत्व निर्माण गर्ने पद्धति के हो भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ । नेतृत्व निर्माण भनेको जहिले पनि वैचारिक, राजनीतिक आधारमा नै हुन्छ ।

केही समयअघिसम्म अध्यक्ष माधवकुमार नेपाल र तपाईंबीच जबज कि समाजवादी कार्यक्रम भन्नेमा मतभेद थियो । तर, अहिले त्यस्तो देखिँदैन । सहमतिमा नीति तय गरिसकेपछि जसले नेतृत्व गर्दा पनि के फरक पर्छ ?

उहाँले केही समयअघिसम्म ‘जबज छाड्यो कि यो पार्टी नै रहँदैन, पार्टीको पहिचान नै रहँदैन । त्यसैले जबज छाड्ने कल्पना पनि गर्न सकिँदैन’ भन्दै हुनुहुन्थ्यो । ‘जबजको कपी राइट नै मसँग छ, त्यसकारण त्यो कुनै हातलमा छोड्न हुँदैन’ भन्ने उहाँको अभिव्यक्ति आउँथ्यो । अहिलेचाहिँ जबज भनेको ‘हिजोको क्रान्तिको कार्यक्रम हो, अब त्यो पुरानो कोट भयो, अब हामीले नयाँ कोट, नयाँ लुगा लगाएर हिँड्नुपर्छ । अब समाजवादी कार्यक्रम नै अगाडि बढाउनुपर्छ भन्ने कुरा ल्याउन थाल्नुभएको देखिन्छ । यो राम्रो कुरा हो । यसरी नयाँ ढंगले व्याख्या गर्न थालेकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु ।

महाधिवेशनमा सम्मानित नेता र महासचिवसहितको एउटा टिम बन्छ, अध्यक्षको नेतृत्वमा अर्को टिम बन्छ भन्ने चर्चा पनि सुनिन्छ । के त्यसरी नै छलफल चलिरहेको हो? 

अहिले आमकार्यकर्ताको सोच, भनाइ र सम्भवतः पार्टीको आवश्यकतालाई हेर्दा म, घनश्याम कमरेडलगायतको एउटा राम्रो टिम बन्नुपर्छ भन्ने देखिन्छ । र, त्यो टिमप्रति कमरेड माधवकुमार नेपालले अत्यन्त हार्दिक दिलका साथ समझदारी निर्माण गर्नुपर्छ । यसरी पार्टीलाई सहमतिका साथ रूपान्तरित गरेर अगाडि बढाउनुपर्छ भन्ने लाग्छ । आमकार्यकर्ताको पनि सकेसम्म नेताहरू मिलेर आऊन् भन्ने नै छ । तर, त्यो मिलेर आऊन् भनेको जसरी पनि नाक जोडेर आऊन्, गाला जोडेर आऊन्, अंकमाल गरेर आऊन् भनेको पक्कै होइन । आमकार्यकर्ताको चाहना नीतिको आधारमा एकता, विचारको आधारमा एकता, कार्यदिशाका आधारमा एकता हो भन्ने मैले बुझेको छु । कम्युनिस्ट पार्टीभित्रको एकता भनेको जहिलेसुकै नीतिमाथि आधारित, कार्यदिशामाथि आधारित र कार्यशैली, कार्यपद्धतिमाथि समेत आधारित हुन्छ । त्यसैले हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तको आधारमा बन्नुपर्ने एकता जुन छ, त्यो एकता निर्माण गर्न सक्यौँ भने नेपाली कम्युनिस्ट आन्दोलनका निम्ति एउटा नमुना नै हुन्छ ।

तपाईं अध्यक्ष बन्नुभयो भने पार्टीमा तात्विक फरक के हुन्छ ?

सबैभन्दा पहिला त हामीले नेपाली समाजवादी क्रान्तिकै पक्षको रूपमा समाजवादी कार्यक्रमलाई अगाडि सार्नेछौँ । दोस्रो, त्यो लक्ष्य प्राप्त गर्ने जुन क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यशैली, पद्धति हो, त्यसलाई हामी प्रस्ट रूपमा स्थापित गर्नेछौँ । तेस्रो, समाजवादी क्रान्तिका मित्र को हुन् र यसका निसाना को हुन्, अहिलेको प्रधान अन्तरविरोध के हो, प्रधान राजनीतिक अन्तरविरोध के हो र प्रधान प्रतिद्वन्द्वी के हो भन्ने कुरालाई प्रस्ट रूपमा अगाडि सारिनेछ । र, पार्टीव्यापी रूपमा नयाँ वैचारिक, राजनीतिक सिद्धान्तका आधारमा व्यापक रूपान्तरणको अभियान सञ्चालन गरिनेछ । पार्टी र जनवर्गीय संगठन निर्माण गर्ने कुरालाई तीव्रता दिइनेछ ।

जनवर्गीय संगठनको कुरा जोड्नुभयो । युवा संघ र अनेरास्ववियुमा सतहमा देखिएको विवाद पार्टी नेतृत्वकै विवादको छाया हो ?

त्यस्तो केही पनि होइन । वास्तवमा अहिले पार्टी र जनसंगठनको बीचमा जुन प्रकारको अन्तरसम्बन्ध हुनुपर्ने हो, त्यो अन्तरसम्बन्ध अत्यन्त नमिठो बनेको छ । खासगरी, युवा, विद्यार्थी, कर्मचारीलाई पार्टीले हेर्ने जुन दृष्टिकोण छ, त्यसमा आधारभूत रूपले नै खोट देखा परेको छ । ती खोटलाई समग्रमा हटाउनुपर्छ । र, जनसंगठनलाई आफ्ना विधानअनुरूप, आफ्ना नीति र कार्यक्रमअनुरूप तर पार्टीको आमकार्यदिशाको आधारमा परिचालित गरिनुपर्छ । उनीहरूलाई सकेसम्म स्वायत्तता दिएर अगाडि बढाउनुपर्ने छ । त्यसरी नै पार्टी निर्माणको एउटा अभियान देशव्यापी रूपमा चलाउनुपर्ने छ । पार्टीभित्रै पनि हामी शुद्धीकरणको अभियान चलाउनेछौँ ।

विद्रोह भएर निर्माण भएको पार्टीमा पनि शुद्धीकरण अभियान गर्नुपर्ने छ र ?

पार्टीभित्र असाध्यै धेरै दूषित, बेसर्वहारा विचारको बाढी पसेको छ । अहिले सिंगो कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी यथास्थितिवाद हाबी छ । दक्षिणपन्थी यथास्थितिवाद भनेको बुर्जुवा चिन्तनकै एउटा रूप हो । त्यस्ता चिन्तनविरुद्ध पार्टीव्यापी वैचारिक शिक्षा अभियान सञ्चालन गर्नुपर्ने छ । र, नेपाली कम्युनिस्ट आन्दोलनमा उत्पन्न भएको जुन दक्षिणपन्थी भड्काउ, दक्षिणपन्थी अवसरवाद र यथास्थितिवाद छ, त्यसविरुद्ध हामीले वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपले बहस, विवाद, संघर्ष र रूपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने छ ।

वामपन्थी एकताको विषय अगाडि सार्नुभएको छ । यो सम्भव छ अहिले ? 

हामी सबै वामपन्थीसँग नीतिका आधारमा, कार्यदिशाका आधारमा बहस, छलफल र एकता प्रक्रियालाई पनि अगाडि बढाउनेछौँ । वामपन्थी एकताका निम्ति पनि हामी त्यत्तिकै काम गर्नेछौँ । तर, हाम्रा पार्टीका आफ्ना क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तका आधारमा अरू सबै कम्युनिस्ट समूहसँग छलफल गर्छौं । जोसँग सबै विचार मिल्छ, त्योसँग क्रमिक रूपमा हामी पार्टी एकता पनि गर्न सक्छौँ । जोसँग समग्र विचार मिल्दैन, साझा आधारमा कार्यगत एकता गर्ने कुरालाई पनि हामी अगाडि बढाउनेछौँ । साथै, नेपालमा दलाल पुँजीवादी र प्रतिक्रियावादीको कुशासन जम्दै गइरहेको छ । नेपाली जनतामाथि जुन प्रकारका शोषण, दमन, अन्याय, अत्याचार बढ्दै गइरहेका छन् । हामी त्यसलाई राष्ट्रव्यापी रूपमा संसद्भित्र र बाहिरबाट व्यापक भण्डाफोर गर्नेछौँ । नेपाली समाजवादी क्रान्ति र रूपान्तरणको राष्ट्रव्यापी वातावरण निर्माण गर्ने काममा एकदम सतर्कतापूर्वक लाग्नेछौँ । मलाई के विश्वास छ भने यो महाधिवेशनलाई हामीले ठीक ढंगले सञ्चालन गर्न सक्यौँ भने एक–डेढ वर्षको बीचमा नेकपा (एकीकृत समाजवादी) एउटा उदीयमान शक्तिका रूपमा पहिचानका साथ राष्ट्रिय राजनीतिमा अगाडि बढ्नेछ ।

महाधिवेशन प्रतिनिधि पनि छनोट भइसकेका छन् । प्रतिनिधि छनोटलाई कसरी हेर्नुभएको छ ? 

हाम्रो पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका निम्ति देश र प्रवासमा समेत पार्टीव्यापी रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्य सम्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिको काँधमा अत्यन्त ठूलो जिम्मेवारी आएको छ । अब हामी सबैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउन, पार्टीलाई वैचारिक र संगठनात्मक दुवै हिसाबले दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गराउन आवश्यक छ । साथै, सबै प्रकारका वैचारिक भ्रमबाट मुक्त नयाँ क्रान्तिकारी, सक्षम र गतिशील नेतृत्व निर्माण गर्न अझै अहं भूमिका निर्वाह गर्नुपर्नेछ । यो महाधिवेशनको उपरोक्त कार्यभार सफलतापूर्वक सम्पादन गर्दै वैचारिक–राजनीतिक, कार्यदिशा र नीतिका आधारमा पार्टी एकतालाई हरप्रकारले सुदृढ र समृद्ध बनाउन सिर्जनशील, दृढ, योजनाबद्ध, संकल्पबद्ध र एकताबद्ध भएर लाग्ने उत्साहका साथ महाधिवेशन प्रतिनिधि छनोट हुनुभएको छ । वैचारिक र राजनीतिक रूपान्तरणको पक्षमा प्रतिनिधिको दृढता देखिन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार