असार १८, २०८१ मंगलबार July 2, 2024

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

एक हजार ८४९ प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ। आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन्। ती दस्ताबेज कम्युनिस्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।

महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ।

काठमाडौं उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ। महाधिवेशन स्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। महाधिवेशन स्थललाई आकर्षक बनाउन सिँगारिएको छ।

करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रूपमा दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ।

एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ। एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया