असार १८, २०८१ मंगलबार July 2, 2024

शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम :५० वर्षीया रीतादेवी यादवको हत्या बुधबार साँझ उनका देबर ४५ वर्षीय जतन यादवले नै गरे। महोत्तरीको औरही नगरपालिका–४ कविलासीकी रीतालाई जतनले कोदालो प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

घरायसी विवादले उग्ररूप लिएपछि जतनले आफ्नै भाउजूलाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षकक सन्तुलाल जयसवालले जनाएका छन्।

सोमबार बाराको कलैया उपमहानगर–६ बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या भयो। उनलाई चार जनाको समूहमा आएका हतियारधारीहरूले चार राउन्ड गोली प्रहार गरेका थिए। गम्भीर घाइते स्वर्णकारको उपचारको क्रममा मृत्यु भयो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही विद्यालयमा पढाउने पूर्वशिक्षिका सहित ६ जनालाई पक्राउ गरेको छ। आपसी सम्बन्ध र रिसिबीको कारण उनको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

मधेसमा बढ्दै ठूला अपराध

जेठ ३२ गते बारा जिल्लाको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भयो। आदर्शकोतवाल गाउँपालिका–३ स्थित बतरा भन्ने ठाउँमा कुशवाहामाथि गोली प्रहार भएको थियो। घर गइरहेको बेला उनलाई मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली हानेका थिए। उपचारको क्रममा उनको मृत्यु भएको थियो।

हत्याको आरोपमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलालप्रसाद कुशवाहा, २९ वर्षीया चाँदसीप्रसाद कुशवाहा, २७ वर्षीया चुल्हाई भनिने श्रवणकुमार साह र ५० वर्षीय ब्रह्मदेवी राम रहेको प्रहरीले जनाएको छ। त्यसैगरी बाराको ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेशकुमार पटेल, ५४ वर्षीय विनोद राउत कुर्मी पनि पक्राउ परेका छन्।

जेठ २६ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादव बेपत्ता भएको भनी उनका श्रीमान् राजु यादवले प्रहरीलाई जानकारी गराए। प्रहरीले रुबीको खोजी गर्दै अनुसन्धान पनि सुरु गर्‍यो। तर, सूक्ष्म अनुसन्धानको क्रममा रुबी बेपत्ता नभएर उनको हत्या नै भएको घटना बाहिरियो। इलाका प्रहरी कार्यालय सखुवाले राजुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनी आफूले नै श्रीमतीको हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन आवाले बताए।

राजुले नै भनेको स्थानमा तलाश गर्दा प्रहरीले रुबीको शव पनि फेला पार्‍यो। राजुले श्रीमतीको हत्या गरेर मिथिला नगरपालिकाको सामुदायिक वनको खोल्सामा शव लुकाएका थिए। राजुले जेठ २६ मा रुबीलाई औरही बाबाको दर्शन गर्न जाने भन्दै फकाएर घरबाट लगेका थिए र उनलाई खोल्सामा पुर्‍याएर हत्या गरे। हत्याको कारण घरायसी विवाद र तनाव थियो।

पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी रौतहटको परोहा नगरपालिका ८ नरकटीयाका २२ वर्षीय दीपेन्द्रकुमार रामले आफ्नै बहिनीको हत्या गरे।

परिवारमा भएको झैझगडाको क्रममा रिसको झोकमा दीपेन्द्रले २० वर्षीय बहिनी तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी रामलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा भर्ना गराइयो। तर, उनको उपचारकै क्रममा मृत्यु भयो। राममाथि कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मधेस प्रदेशमा अपराधिक गतिविधिमा पछिल्लो समय निकै वृद्धि भएको छ। सामान्य विवादमा, झैं झगडा, पारिवारिक रिसिबी वा मनमुटावमा समेत हत्या जस्ता जघन्य अपराध नै गर्ने खालका क्रियाकलापहरू हुन थालेका छन् जसले गर्दा शान्ति सुरक्षामा प्रश्न खडा गरेको छ। अन्नपूर्णपोष्ट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया