असार १८, २०८१ मंगलबार July 2, 2024

पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उदयपुर । त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो ।

सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् । यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुटा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट–दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताउनुभयो । नगर प्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया