असार १८, २०८१ मंगलबार July 2, 2024

‘नेपाली क्रान्ति मौलिक चरित्रको’ – महासचिव पोखरेल

“हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनौँ र जान सक्दैनौँ । जाँदा क्रान्ति र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली क्रान्ति मौलिक चरित्रको रहेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज अखिल नेपाल महिला सङ्घले आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र जनताको बहुदलीय जनवाद’ (जबज) विषयक विचार गोष्ठीमा उहाँले विश्वमा भएका राजनीतिक क्रान्तिको चरित्रलाई नेपाली क्रान्तिले आत्मसात गरेको बताउनुभयो ।

महासचिव पोखरेलले लोकतन्त्रलाई लोकतान्त्रिक ढङ्गबाट अगाडि बढाउन नसक्नु आजको समस्या रहेको उल्लेख गर्नुभयो । सामाजिक सञ्जालबाट लोकप्रियता प्राप्त मान्छेले राजनीतिमा आएर राजनीतिलाई विकल्प दिन्छौँ भन्ने गलत भाष्य स्थापित हुन खोजेको उहाँको भनाइ थियो ।

उहाँले क्रान्तिबाट नभई शान्तिपूर्ण र वैधानिक तरिकाबाट समाजवादमा पुग्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फटाफट समाज बदल्ने बाटोमा जाँदैनौँ र जान सक्दैनौँ । जाँदा क्रान्ति र सामाजिक परिवर्तनसँगै जान सकेन भने प्रतिक्रान्ति हुन्छ ।”

महासचिव पोखरेलले जबजले देखाएको बाटो पछाडि परेका वर्ग र क्षेत्रका पक्षमा रहेको स्पष्ट पार्नुभयो । जबजले रेखाङ्कन गरेको कुरालाई कम चर्चा गर्दा समाजको रुपान्तरणको प्रक्रिया बन्द भएको उहाँको भनाइ छ । उहाँले राजनीतिक परिवर्तनले निर्माण गरेको उत्पादन सम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले स्पष्ट दिशानिर्देश गर्ने राजनीतिक दलले मात्र नेपाली समाजको रूपान्तरण गर्ने बताउनुभयो । अहिले बनेका संयुक्त सरकारले पनि समाज रूपान्तरण गर्न नसक्ने उहाँको धारणा छ ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जबजले समाजमा रहेका बेथितिलाई समाधान गर्दै समाजलाई समानतामा आधारित बनाउन भूमिका खेल्ने बताउनुभयो ।

अनेमसङ्घका अध्यक्ष टुका हमालले पार्टीको मार्गदर्शन सिद्धान्तको रुपमा रहेको जबजले महिलाका अधिकार सुनिश्चित भएको स्पष्ट पार्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया