असार १९, २०८१ बुधबार July 3, 2024

भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह

भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १७ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गर्नुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उहाँले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । मन्त्री अर्यालले यस कार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराउनुभयो ।

“हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा सङ्लन्न छन्, त्यसैले एक पटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्”, उहाँले भन्नुभयो । भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेत्रमा मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गर्नुभयो ।

उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिकरुपमा दुई खर्ब एक अर्ब ६० करोड गैर बैङ्किङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगतरुपमा गहिरो अध्ययन गरिरहेको बताउनुभयो । सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया