असार २०, २०८१ बिहिबार July 4, 2024

प्रचार प्रसार नहुँदा ओझेलमा मन्ठोर्‍या भवानी मन्दिर

मन्दिरमा पूजासँगै दर्शन गरेमा दुःख कष्ट हट्नका साथै मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्ठोर्‍या भवानी मन्दिर ओझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१० उत्तर अम्राइमा रहेको मन्ठोर्‍या भवानी मन्दिरको संरक्षणसँगै प्रचारप्रसार नहुँदा वर्षाैं पुरानो धार्मिक सम्पदा ओझेलमा परेको हो । मन्दिरमा पूजासँगै दर्शन गरेमा दुःख कष्ट हट्नका साथै मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोही जनविश्वासका कारण पूजापाठसँगै माघी पर्वमा मन्ठोर्‍या मन्दिरमा तीन दिनसम्म मेला लाग्ने गर्दछ । माघीसँगै मन्दिरमा मानिसलाई दुःख कष्ट परेको बेला, मनोकामना पूरा गर्नका लागि पूजा अर्चना हुने गरेको स्थानीय गोविन्द चौधरी बताउँछन् । मानिसलाई दुःख कष्ट परेको बेला वा केही कुरा प्राप्तिका लागि भाकल गर्ने गरिए पनि मन्दिरमा दैनिक रुपमा पूजापाठ भने नहुने गरेको चौधरीको भनाइ छ ।

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको मन्दिर भए पनि दैनिक रूपमा पूजापाठ नहुँदा मन्दिरको संरक्षण नहुनका साथै प्रचारप्रसार हुन नसकेको चौधरीले बताए । ‘मन्दिरमा दैनिक पूजापाठसँगै संरक्षणका लागि स्थानीय लाग्न सके मन्दिरका सरसफाईसँगै प्रचारप्रसार हुने थियो । तर मन्दिरमा दैनिक पूजापाठ हुन नसक्दा ओझेलमा पर्न गएको छ’ उनले भने । मन्ठोर्‍या मन्दिरमा खासखरी थारु समुदायबाटै पूजाअर्चना गरिने भएकाले मन्ठोर्‍या भवानी थारु समुदायकी आराध्यदेवीका रूपमा लिने गरिन्छ ।

यद्यपि थारु राजा दंगीशरणका चालिसौं पुस्ताका राजा रत्नपरिक्षकले छैठौ शताब्दीमा यस मन्ठोर्‍या भवानी मन्दिरमा तपस्या साधना गरी ऋद्धिसिद्धि प्राप्त गरेर सिद्धरत्ननाथ नामले प्रसिद्धि पाएको र इहलीलासमेत पूर्ण भएकाले मन्ठोर्‍या मन्दिरमा कान चिरेका योगी सम्प्रदायबाट समेत पूजाआजा हुने गरेको छ । त्यसैकारण मन्ठोर्‍या भवानी मन्दिर घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको गोरक्ष सिद्धरत्ननाथ मन्दिरसँग सम्बन्ध रहेको छ ।

गोरक्ष, सिद्धरत्नाथ र मन्ठोर्‍या दुवै मन्दिरको भारतको तुलसीपुरस्थित पाटनदेवी मन्दिरसँग सम्वन्ध रहेको छ । पाटनदेवीको यात्रा आरम्भ मन्ठोर्‍या मन्दिरको पूजा पश्चातमात्र हुने गर्दछ । सिद्धरत्ननाथ चौघेराबाट मन्ठोर्‍या मन्दिरमा धार्मिक कार्य गरिने र चौघेरामा रहेका पात्रदेवतालाई पाटनदेवी मन्दिर पुर्‍याउँदा मन्ठोर्‍या मन्दिर आसपास क्षेत्रका थारु समुदायका मानिससँगै जाने प्रचलन थियो । मन्ठोर्‍या भवानी मन्दिरलाई एकैरातमा तयार भएको मन्दिरका रुपमा समेत चिन्ने गरेको स्थानीय देवीलाल चौधरी बताउँछन् ।

पहिले रातिको समयमा देवीदेवता हिँड्ने गरेको बेला देवीदेवताले नै मन्दिर बनाएको विश्वास गर्दछन् । स्थानीय सरकारले विकास र प्रचारप्रसारमा ध्यान नदिँदा चौघेरामा रहेको गोरक्ष सिद्धरत्ननाथ मन्दिरसँगै भारतको तुलसीपुरमा रहेको पाटनदेवी मन्दिर चर्चामा रहेपनि मन्ठोरिया मन्दिर भने ओझेलमा परेको गुनासो रहेको छ । पहिले इँट्टा र माटोको प्रयोग गरेर निर्माण गरिएपनि पछि मन्दिर इँट्टा र चुनासुर्की प्रयोग गरेर निर्माण गरिएको छ ।

पहिले मन्दिरको छेउमा पुजारी बस्ने घर, चार कोठाको धर्मशाला भएपनि अहिले भग्नावशेष अवस्थामा मात्र देख्न सकिने स्थानीय चौधरीले बताए । मन्दिरको विकाससँगै प्रचारप्रसार गर्नसके पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने उनको भनाइ छ । विस २०१९ सालसम्म मन्ठोर्‍या भवानी मन्दिरमा राँगा, बोका, भेडा, सुपारी, जाइफल, गडी र छोहरा गरी पाँच प्रकारका मसला चढाउने प्रचलन भए पनि पछिल्लो समय हटेको स्थानीय बताउँछन् ।

पहिले मन्दिरको सुरक्षाका लागि चारैतिर पर्खाल निर्माण गरिए पनि त्यो भत्किएपछि बन्न सकेको छैन । १७ औं शताब्दीमा एकैरातमा तयार भएको मन्दिरका रुपमा परिचित मन्ठोर्‍या भवानी मन्दिरलाई ‘मन्ठोरिया मन्दिर’ पनि भन्ने गरिन्छ । समुन्द्री सतहबाट ६३६ मिटरको उचाइमा रहेको यो मन्दिर घोराही बजारबाट नौ किलोमिटर पश्चिम उत्तरमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया