असार २०, २०८१ बिहिबार July 4, 2024

सुन तस्करीको आरोपमा दीपेश पुनलाई उन्मुक्ति

थप ३१ क्विन्टल सुन तस्करी पुष्टि, २ खर्ब ६६ अर्ब ६७ करोड बिगो मागदाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले उन्मुक्ति दिएको छ । सत्तारुढ माओवादी निकट अखिल (क्रान्तिकारी) का नेतासमेत रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामान्य सोधपुछसमेत नगरी उन्मुक्ति दिएको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगले पनि दीपेशलाई अनुसन्धानको दायरामा ल्याउन राय दिएको थियो । यसअघि सीआईबीले दीपेशलाई संकास्पद पात्रका रूपमा राखेको थियो ।

सुन तस्करी प्रकरणमा सुरुको अनुसन्धान अपुरो भएको भन्दै सीआईबीले आरोपित दीपेशलाई दोस्रो चरणको अनुसन्धानमा सामान्य सोधपुछ नै नगरी उन्मुक्ति दिएको हो । ६१ केजी सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा सीआईबीले २० जनालाई पक्राउ र २६ जनालाई फरार सूचीमा राखेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

त्यसको तीन दिनपछि सोमबार सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले पत्रकार सम्मेलन गरी तस्करीको जालोबारे जानकारी गराएका थिए । अनुसन्धानमा दीपेशलाई किन नल्याएको भन्ने प्रश्नमा ज्ञवालीले अपराधमा संलग्नता पुष्टि नभएपछि त्यसबारे केही गर्नु नपरेको जिकिर गरे । ‘प्रमाणले पुष्टि नभएपछि अनुसन्धानमा ल्याइरहन परेन,’ एआईजी ज्ञवालीले भने, ‘तथ्य र प्रमाणले पुष्टि गरेका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको छ ।’ त्यसो त, दिपेशलाई गतवर्षबाटै उन्मुक्ति दिन चलखेल भएको थियो । पक्राउ परेका केही आरोपितले नाम किटान गर्नुका साथै अनुसन्धानका क्रममा चिनियाँ तस्करसँग उठबससहितको हिमचिम तथा नाजायज लाभ लिएका तथ्यहरू बाहिरिएपछि उनलाई गतवर्ष सीआईबीले बोलाएर बयान कागज गराएको थियो ।

२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार भएर सिनामंगल सडकमा पुगेको सवारीसाधनबाट बरामद करीब ६१ केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरेको सीआईबी सुन तस्करीसँग जोडिएको राजनीतिक नेक्ससमा प्रवेश नै गरेन । राजनीतिक नेक्सस स्थापित गर्न सक्ने आधार देखिएका दीपेशविरुद्ध मुद्दा चलाउनु नपर्ने गरी सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।

उनी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधका समेत एक पात्र हुन् । बाबु नन्दबहादुर उपराष्ट्रपति भएका बेला सुन तस्करी र शरणार्थी प्रकरणमा दीपेश सत्ता र शक्तिको आडमा विभिन्न कसुरमा जोडिएका थिए । गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत अपचलन गरेको प्रकरणमा हाल गृहमन्त्री रहेका रास्वपा सभापति एवं नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसँगै दीपेश पनि आरोपित हुन् । उनिविरुद्ध रूपन्देही जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा विचाराधीन छ । जीबी र रवि जोडिएका अरु सहकारीमा पनि दीपेश संदिग्ध व्यक्तिका रूपमा देखिए पनि त्यसमा थप अनुसन्धान हुन पाएकै छैन ।

सीआईबीले अनुसन्धान गर्दाका बखत दीपेशले आफूले प्रयोग गर्ने आइफोनसहितका मोबाइल लुकाएर सामान्य फोनकल गर्न मिल्ने मोबाइल मात्रै सीआईबीलाई दिएका थिए । फोनकलमा दीपेश र सुन तस्कर दावा छिरिङबीच निकट सम्बन्ध रहेको तथ्य स्थापित छ । हाल फरार रोल्पाकी अमला रोका र पुर्पक्षका लागि जेलमा रहेका दावासँगको सम्बन्धलाई दीपेशले गतवर्ष नै स्वीकार गरेका हुन् । दुवैको नेटवर्कमा रहेर धन्दा चलाएको आरोप लागेका दीपेशलाई भने रवि गृहमन्त्री बनेर आएपछि अघि बढेको दोस्रो चरणको अनुसन्धानबाटै उन्मुक्ति दिइएको हो ।

६१ केजी सुन तस्करी प्रकरणमा जोडिएका सहसचिव झलकराम अधिकारीलाई पनि सीआईबीले सोधपुछ नै नगरी उन्मुक्ति दिएको छ । अधिकारीले चिनियाँ गिरोहसँग मोबाइल च्याटमार्फत सुन तस्करी गर्ने गरी कोड भाषामा गरेका संवाद बाहिरिएका थिए । यस विषयमा अनुसन्धान गर्नुपर्ने भन्दै हालका गृहमन्त्री लामिछानेले सार्वजनिक अभिव्यक्ति दिएका थिए । संसद्मा पनि यसबारे उनी बोलेका थिए । तर, लामिछाने गृहमन्त्री भएकै बेला अधिकारीमाथि सीआईबीले कुनै अनुसन्धान नगरी उन्मुक्ति दिएको हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया