असार २३, २०८१ आइतबार July 7, 2024

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले बुझाए राजीनामापत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । कामचलाउ सरकारको हैसियतमा पुगेपछि प्रधानमन्त्रीले अब संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ वा राजीनामा दिनुपर्ने हुन्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरूले बुधबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् । रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका हरि उप्रेतीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामापत्र बुझाएको जानकारी दिए ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयानुसार प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । ‘आज (बुधबार)सम्म हामीले उहाँ (प्रधानमन्त्री प्रचण्ड)लाई राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न भनेका थियौं, त्यस्तो नहुने देखिएकाले समर्थन फिर्ता लिने निर्णयको कपीसहित प्रधानमन्त्रीलाई पत्र बुझाउँदै छौं,’ एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘हाम्रा मन्त्रीहरूले पनि राजीनामा दिनुभएको छ ।’

एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । ७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको नेकपा (माओवादी केन्द्र), २१ सिटको रास्वपा, १० सिटको नेकपा (एकीकृत समाजवादी), ७ सिटको जसपा र ६ सिट रहेको जनमत पार्टीको मात्र समर्थन बाँकी रहेको छ । अब प्रचण्डले आगामी १९ साउनभित्रमा संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ वा राजीनामा दिनुपर्ने हुन्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।

नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यसअघि मंगलबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको थियो । तर, प्रचण्डले राजीनामा नदिएपछि आफ्नो पार्टीले सरकालाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीलाई समेत फिर्ता बोलाउने निष्कर्षमा एमाले पुगेको हो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया