असार २३, २०८१ आइतबार July 7, 2024

अझै उथलपुथलको आशामा प्रधानमन्त्री दाहाल

दाहालको दम्भको अन्त्य गर्नुका साथै मुलुकलाई राजनीतिक निकासका लागि कांग्रेस र एमालेका शीर्ष नेता एक ठाउँमा उभिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गर्नु उचित हुने निष्कर्ष निकालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुलुकलाई निकास दिन र राष्ट्रिय सहमतिको सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको हो।

झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए। साथै २०८४ सालमा हुने आम निर्वाचनमा कांग्रेसले तालमेल गर्न नचाहेको भन्दै दाहालले एमालेसहित दलहरूसँग नयाँ समीकरण बनाएका थिए। तर, त्यसको चार महिना बित्दानबित्दै एमाले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिन तयार भएको हो।

त्यससँगै प्रतिनिधिसभाको पहिलो र दोस्रो दल कांग्रेस र एमाले मिलेर सरकार गठनसहित संविधान संशोधनजस्ता विषय अघि बढाउने समझदारी सोमबार राति गरेका छन्। दुई दलबीचको समझदारीसँगै लामो समय सत्तामा टिकिरहने दाहालको सपना मात्र होइन, आगामी निर्वाचनमा पनि एमालेसहित दलसँग तालमेल गर्ने रणनीतिमा पूर्णविराम लागेको छ।

कांग्रेसले प्रतिनिधिसभाका दुई ठूला दल (नेपाली कांग्रेस र एमाले)बीच सहमतिको सरकार गठन गर्ने समझदारी भएको जनाउँदै दाहाललाई प्रधानमन्त्रीबाट राजीनामा गर्न आग्रह गरेको छ। दुई दलीय सहमतिलाई अनुमोदन गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले आलोपालोमा सरकारको नेतृत्व गर्ने पनि जनाएको छ। सरकारको पहिलो नेतृत्व एमालेले गर्ने र दोस्रो कांग्रेसले गर्ने स्पष्ट पारेको छ। संविधानको धारा ७६ को २ अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वमा नयाँ सरकार गठन गर्ने पनि उसले जनाएको छ।

‘नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकामा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई ध्यानमा राखी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीताप्रति सुदृढता व्यक्त गर्दै कांग्रेसले दुई दलबीच राष्ट्रिय हितको रक्षा र भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्नुका साथै विकास निर्माणको अभियानलाई तीव्रता दिने सहमति भएको जनाएको छ। दुई दलीय सहमति कार्यान्वयन गर्न कांग्रेसले दृढता व्यक्त गरेको छ। तर, सरकारको नेतृत्व गरिरहेका दाहालले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नगर्ने संकेत गरेका छन्।  नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया