असार ४, २०८२ बुधबार June 18, 2025

त्रिशुलीमा बेपत्ता दुईवटा बसको आज पनि खोजी कार्य जारी

आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन् ।

शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु भएको छ । खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी खटिएका छन् ।

आजदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानहरूसँगै देवघाटमा समेत खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो ।

दुईवटा बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।

शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृतावस्थामा तीनवटा शव भेटिएका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए ।

काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया