असार २८, २०८२ शनिबार July 12, 2025

सुन किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा, साउन ४ गते । बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो लागेको छ । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको छ । यो नेपाली सुन बजारको हालसम्मको उच्च मूल्य हो ।

पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भुलनप्रसाद सर्राफ भन्नुहुन्छ, “सुनको मूल्य निरन्तर उकालो लागिरहँदा १० प्रतिशत ग्राहक सुन किन्न आउँछन् भने ९० प्रतिशत ग्राहक बेच्नका लागि नै आउने गरेका छन् ।”

अध्यक्ष सर्राफले सरकारले चालु आर्थिक वर्षको बजेटमा सुनको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत गरेपछि सुनको मूल्य प्रतितोला छ हजार बढी पर्न गएकाले सोको प्रत्यक्ष प्रभाव सुन व्यवसायमा पर्न गएको बताउनुभयो ।

दुई छिमेकी मुलुक भारतमा प्रतितोला १० हजार र चीनमा २८ हजार नेपाली मूल्यभन्दा कम रहेकाले सुनको अवैध व्यापारले प्रश्रय पाउने सम्भावना उच्च रहेको उहाँको भनाइ छ । जय बालाजी ज्वेलर्सका सञ्चालक सञ्जयकुमार सर्राफले व्यापारमा आएको मन्दीका कारण पनि लगनको समयमा नभई नहुनेले तथा धनाढ्य व्यक्तिले मात्र औसत रूपमा सुन किन्न आउने गरेको बताउनुभयो । उहाँले सर्वसाधारण ग्राहकले घरमा रहेको पुरानो गहना सफा गराई काम चलाउने गरेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया