काठमाडौंः स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेका निजामती कर्मचारीहरू जागिर खाइसकेपछि पनि राजीनामा दिएर बीचैमा निस्कने क्रम केही बढेको छ। राष्ट्रिय किताबखानाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा निजामती सेवामा रहेकै अवस्थामा ७ सय ८ जनाले राजीनामा दिएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा भने यो संख्या केही बढ्न पुगेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा राजीनामा दिने निजामती कर्मचारीको संख्या ७ सय ९४ रहेको राष्ट्रिय किताबखानाले जनाएको छ। कर्मचारीहरू जागिरका क्रममा राजीनामा दिएर निस्कने क्रम बढे पनि सरकारले कर्मचारीले राजीनामा दिनुको कारणहरूको बारेमा कुनै खोजीनीति गर्न सकेको छैन्। कर्मचारी हकहितको विषयमा काम गर्ने मुख्य जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि यस विषयमा कुनै अध्ययन अनुसन्धान गर्न सकेको छैन।
राष्ट्रिय किताबखानका अनुसार गत आर्थिक वर्षमा अनिवार्य अवकाशसहित बाहिरिएका कर्मचारीको संख्या भने २ हजार २ सय रहेको छ । जसमध्ये अनिवार्य अवकाशमा गएका कर्मचारीको संख्या १४ सय ५० रहेका छन् । यसै गरी सो अवधिमा सचिवको ५ वर्षे कार्यकाल सकाएर उमेर नपुग्दै ४ जना सचिवहरू अवकाश भएका छन् । यसै गरी गत वर्ष भविष्यमा अयोग्य नठहरिने गरी १ जना कर्मचारी बर्खास्तमा परेका छन् भने भविष्यमा अयोग्य ठहरिने गरी १ जना बर्खास्त भएका छन् ।
राष्ट्रिय किताबखानाका अधिकारीहरूका अनुसार निजामती सेवामा आएका केही इमानदार व्यक्तिहरू फ्रस्टेसनको शिकार भएर राजीनामा दिएका छन्। केही भने निजामती सेवामा प्रवेश गरेपछि विदेशको पीआर पाएकाले राजीनामा दिने गरेका छन्। केही कर्मचारी विदेशमा अध्ययन गर्न जाँदा उतै बेपत्तासमेत हुने गरेको बताइएको छ। सरकारको पैसामा अध्ययन गर्न जाने तर उतै बेपता हुँदा समेत सरकारले उनीहरूको खोजतलास गर्न सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले कर्मचारीहरू बीचैमा राजीनामा दिएर निस्कने क्रम बढ्नुले राम्रो सन्देश नदिने भएकाले यस विषयमा अध्ययन अनुसन्धान जरुरी रहेको बताउनुभयो।
‘यो विषयलाई अहिलेसम्म प्राथमिकतामा नराखेको भए पनि अब भने मन्त्रालयले उच्च प्राथमिकतामा राखेर अध्ययन गरी कारण पत्ता लगाएर समाधान खोज्नुपर्छ’ –प्रवक्ता पराजुलीले नेपाल समाचारपत्रसँग भन्नुभयो । नेपाल समाचारपत्रबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया