काठमाडौंः संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्ताव गरेका थिए । प्रस्तावित सदस्यहरूको नाम संसद् बैठकले अनुमोदन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिमा परेका छन् ।
यस्तै, सांसद शक्तिबहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्य हुँदा राज्य व्यवस्था तथा सुशासन समितिमा पूर्णबहादुर खड्का, राजेन्द्रकुमार राई छन् । संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा. स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन् ।
त्यस्तै पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य भएका छन् । हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भएका छन् । रघुवीर महासेठ र डोलप्रसाद अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् भने ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी छन् ।
यसैगरी रेखा शर्मा, सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समितिको सदस्य बनेका छन् । राज्यव्यवस्था तथा सुशासन समितिबाट हरि ढकाल सार्वजनिक लेखा समितिमा पुगेका छन् भने मीना यादव शिक्षा स्वास्थ्यबाट कृषि सहकारी समितिको सदस्य बनेकी छन् । राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया