असार २८, २०८२ शनिबार July 12, 2025

१६ राजदूतमा भागबन्डा गर्दै सत्ता गठबन्धन

माओवादी र एसबाट राजदूत भएका ५ जनालाई फिर्ता बोलाइँदै, अन्य ११ देशमा पनि नयाा नियुक्तिको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भारत र अमेरिकासहित १६ देशमा राजदूत नियुक्तिका लागि सरकारले गृहकार्य थालेको छ । राजदूत रिक्त ११ देश तथा यसअघि माओवादी र एकीकृत समाजवादीको सिफारिसमा राजदूत भएका ५ गरी १६ मुलुकमा एकै पटक राजदूत नियुक्त गर्न लागिएको हो ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वमा रहेको माओवादी–एमाले–रास्वपा गठबन्धन सरकारले विभिन्न ११ मुलुकबाट फिर्ता बोलाएर भारतसहित ८ मुलुकमा राजदूत सिफारिस गरेको थियो । तर, सिफारिस भएको केही दिनमै सत्ता गठबन्धन परिवर्तन भएर केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेसलगायत दलको सरकार बन्न पुग्यो ।

स्रोतका अनुसार सरकारले अब माओवादी सिफारिसमा राजदूत भएका ३ र एसबाट राजदूत भएका २ जनालाई फिर्ता बोलाउने र त्यसपछि रिक्त हुने सबै १६ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्नेछ । माओवादीको कोटाबाट चीनमा विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र र दक्षिण अफ्रिकामा दानबहादुर तामाङ राजदूत छन् भने एसबाट रुसमा मिलन तुलाधर र अस्ट्रेलियामा कैलाश पोखरेल राजदूत भएका हुन् ।

सरकारका एक मन्त्रीले राजदूत नियुक्तिका लागि गृहकार्य भएको तर अझै फिर्ता बोलाउने र नयाँ नियुक्तिबारे निर्णय हुन बाँकी रहेको बताए । सत्ता गठबन्धनभित्र भारत, चीन र अमेरिकामा कसलाई पठाउने भन्नेमा विशेष चासो छ । नयाँ गठबन्धनले गर्ने सिफारिसमा एमालेका तर्फबाट यसअघि सिफारिस भएका केही व्यक्तिहरूलाई फेरि सिफारिस गरिने एमालेका एक नेताले जानकारी दिए ।

दाहाल सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ मुलुकका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय लिएको थियो । त्यसपछि असार ७ मा विभिन्न ८ मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । तर, ओली सरकारले दाहाल सरकारबाट सिफारिस भएका राजदूतमा फेरबदल गर्न लागेको हो । कांग्रेस र एमालेले मुख्य गरी भारत, चीन र अमेरिकामा आफूले चाहेअनुसार राजदूत पठाउनका लागि छलफल गरेका हुन् । किनकि ती मुलुकहरू आर्थिक र भूराजनीतिक हिसाबमा पनि नेपालका लागि महत्त्वपूर्ण मानिन्छन् । भारत र चीन छिमेकी मुलुक हुन् भने अमेरिका शक्तिशाली मुलुक हो ।

दाहाल सरकारले फिर्ता बोलाएपछि ११ वटै देशका राजदूतहरू फिर्ता आउने क्रम जारी छ । भारतका लागि नेपाली राजदूत शंकर शर्माको म्याद सरकारले गत साता १५ दिनका लागि थप गरेको थियो । अर्को साता उनी पनि नेपाल फिर्ता हुँदै छन् । राजदूत शर्मालाई कांग्रेस सभापति देउवाले निरन्तरता दिन चाहे पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नमानेको स्रोतको भनाइ छ । ‘एमाले नै भएको गठबन्धनले फिर्ता बोलाउने निर्णय गरेका कारणले गर्दा उहाँ (शर्मा) लाई फेरि राजदूत नियुक्त गरेर पठाउनु ठीक हुन्न,’ ओलीलाई उद्धृत गर्दै देउवानिकट स्रोतले भन्यो । शर्मालाई भारत र चीनबाहेक अन्य मुलुकमा राजदूत बनेर जानका लागि पनि आग्रह गरिएको थियो । तर, शर्माले भारतबाहेक अब अरू मुलुकमा राजदूत बनेर नजाने नयाँदिल्लीबाटै सन्देश पठाएको स्रोतको भनाइ छ ।

तत्कालीन दाहाल सरकारले एमालेका ५, जसपाका २ र माओवादीका तर्फबाट १ राजदूत सिफारिस गरेको थियो । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारलाई सिफारिस गरेको थियो ।

यी नाममा एमालेका तर्फबाट सिफारिस भएका केहीलाई भने प्रधानमन्त्री ओलीले निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ । एमालेका तर्फबाट राजदूत सिफारिस भएका प्याकुरेलले भने पद अस्वीकार गरिसकेका छन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया