असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नती गर्ने

चीनप्रतिको असहजता र उत्तर कोरियाप्रतिको चिन्ताका कारण जापानले हालैका वर्षहरुमा आफ्नो कडा शान्तिवादी अडान त्याग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टोकियो, साउन १३ गते । वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गर्नुहुनेछ । अमेरिकाबाट करिब छ हजार ५०० किलोमिटर टाढा रहेको जापानमा हवाईस्थित इन्डो-प्यासिफिक कमान्डअन्तर्गत करिब ५४ हजार अमेरिकी सैनिकहरु छन् ।

आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टोकियोमा आफ्ना समकक्षीसँग ‘टु प्लस टु’ वार्तामा सामेल भई रक्षामन्त्री अस्टिनले थ्री स्टार कमान्डरको नेतृत्वमा नयाँ ज्वाइन्ट फोर्स हेडक्वार्टरको घोषणा गर्ने एक अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले जापानको सबै सशस्त्र बलहरूको लागि योजनाबद्ध संयुक्त अपरेसन कमान्डको समकक्षको रुपमा काम गर्नेछ र ताइवान वा कोरियाली प्रायद्वीपमा सङ्कटको अवस्थामा दुई सेनालाई थप फुर्तीला बनाउनेछ ।

चीनप्रतिको असहजता र उत्तर कोरियाप्रतिको चिन्ताका कारण जापानले हालैका वर्षहरुमा आफ्नो कडा शान्तिवादी अडान त्याग्दै, रक्षा खर्च बढाउने र ‘काउन्टर स्ट्राइक’ क्षमता हासिल गर्न अग्रसर हुँदै आएको छ । गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा भएको शिखर सम्मेलनमा सहकार्यमा ‘नयाँ युग’को घोषणा गरेका थिए ।

यसै महिना ब्लिन्केन र अस्टिनले जापान र फिलिपिन्ससँगको अर्को ‘टु प्लस टु’ वार्ता गरी एक अर्काको क्षेत्रमा सेना तैनाथ गर्न अनुमति दिने एक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । गत अप्रिलमा वासिङ्टनमा जापान, फिलिपिन्स र संयुक्त राज्य अमेरिकाका नेताहरुबिच पहिलो त्रिपक्षीय शिखर सम्मेलन भएको थियो । गत अगस्टमा क्याम्प डेभिडमा राष्ट्रपति जो बाइडेनसँग भेटी जापान र दक्षिण कोरियाले पनि दोस्रो विश्वयुद्धका समय भएको वैमनस्यतालाई त्याग्ने सहमति गरेका थिए ।

जापान–अमेरिका ‘टु प्लस टु’ बैठकअघि अस्टिन र जापानका रक्षामन्त्री मिनोरु किहाराले १५ वर्षपछि जापान भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली रक्षामन्त्री शिन वोन सिकसँग त्रिपक्षीय वार्ता गरेका थिए । उनीहरुले सूचना आदानप्रदान र त्रिपक्षीय अभ्यासलगायत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

“जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच त्रिपक्षीय सहयोग अन्तर्राष्ट्रिय परिस्थितिमा भएका विभिन्न परिवर्तनका बाबजुद पनि बलियो र अटुट भएको छ,” किहाराले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो । जापान र अमेरिकाबिच भएको वार्तामा जापानको सुरक्षाका लागि आणविक हतियारलगायत आफ्नो सैन्य क्षमता प्रयोग गर्ने वासिङ्टनको ‘विस्तारित प्रतिरोध’ प्रतिबद्धतालाई बढाउने विषयमा पनि छलफल भएको थियो ।

चीनको सैन्य आधुनिकीकरण, उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्य र युक्रेन युद्धमा आणविक आक्रमणले जापानलाई अस्थिर बनाएको  अमेरिकी (आरएएनडी) थिङ्क ट्याङ्कका राजनीतिशास्त्री नाओको आओकीले बताउनुभयो । “संयुक्त राज्य अमेरिकाले जापानलाई आफ्नो प्रतिबद्धताको आश्वासन दिनु र सम्भावित प्रतिद्वन्द्वीहरुलाई यो गठबन्धन बलियो रहेको र जापानको रक्षाका लागि आवश्यक परेमा आणविक हतियार प्रयोग गर्न संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको सङ्केत दिनु महत्वपूर्ण छ,” उहाँले एएफपीसँग भन्नुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार