असार २१, २०८२ शनिबार July 5, 2025

वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर

ग्रामीण तथा विकट क्षेत्रबाट बजारमा बसाइँ सर्ने र बजारमा बस्दै आएकाहरू ठूला शहर तथा विदेश जाने प्रचलन बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ (स्याङ्जा) । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् ।

व्यक्तिगत घटना दर्ता प्रतिवेदनअनुसार वालिङमा पछिल्ला दुई आवमा एक हजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिका पञ्जिकरण शाखाका ‘फोकल पर्सन’ नारायण रेग्मीका अनुसार आव २०७९/०८० मा दुई सय २२ घरधुरीका आठ सय १२ जना बसाइँ सरी गएका थिए । सोही आवमा ७५ घरधुरीका दुई सय ८४ जना बसाइँ सरी आएका थिए ।

आव २०८०/०८१ मा एकसय ८१ घरधुरीका छ सय पाँच जना बसाइँ सरी गएका छन् । सोही आवमा ५५ घरधुरीका एकसय ९७ जना बसाइँ सरी आएका छन् ।

वालिङ नगरपालिकाका केही वडामा बजार विस्तार भइरहेको छ । केही वडा ग्रामीण र भौगोलिक दृष्टिले विकट छन् । ग्रामीण तथा विकट क्षेत्रबाट बजारमा बसाइँ सर्ने र बजारमा बस्दै आएकाहरू ठूला शहर तथा विदेश जाने प्रचलन बढ्दै गएको हो ।

“स्वास्थ्य, शिक्षा र अन्य सुविधाका लागि ग्रामीण वडाबाट शहरी वडामा बसाइँ सरेर आउने र शहरी वडाबाट अन्यत्र बसाइँ जाने गरेको देखिन्छ”, रेग्मीले भन्नुभयो, “समग्रमा नगरपालिकाभित्र आउनेभन्दा जाने बढी देखिएको छ ।”

नगरका १४ वटा वडाबाट बसाइँसराई गर्ने केही नगरभित्रकै एउटा वडाबाट अर्को वडामा गएको र धेरैजसो वालिङभन्दा अन्यत्र गएको तथ्याङ्क छ । वालिङमा उच्च शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता कारणले गर्दा यहाँबाट बसाइँसराई गरी अन्यत्र जाने गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।

“बसाइँसराईका मुख्य कारण स्वास्थ्य, शिक्षा, रोजगारी मुख्य हुन् भने अन्य कारण पनि हुन सक्छन्”, उहाँले भन्नुभयो, “वालिङमा बसाइँ सरी आउनेभन्दा जाने धेरै हुनु पक्कै राम्रो कुरा होइन, यो गम्भीर विषय भएकाले यो छलफलको विषय बनाउनु जरुरी छ ।”

यहाँका नागरिकलाई वालिङमै रहने वातावरण बनाउन वालिङ नगरपालिकाकोतर्फबाट गर्न सकिने सबै प्रयास गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

वालिङमा सुविधा सम्पन्न अस्पताल नहुनु, सिद्धार्थ राजमार्गलगायतका सहायक सडकको स्तरोन्नति नहुनु, उच्च शिक्षा अध्ययनकालागि विद्यालय नहुनु, पछिल्लो समय वालिङमा महँगी धेरै हुनु जस्ता कारण पनि यहाँबाट मानिस अन्यत्रै जाने गरेको हुनसक्ने अनुमान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार