असार २२, २०८२ आइतबार July 6, 2025

आदिवासी जनजातिका लागि छुट्टै मन्त्रालय चाहिन्छ : लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ अध्यक्ष, ओमबहादुर घर्तीमगर (अन्तवार्ता)

पार्टीका कार्यक्रम तल्लो तहसम्म नपु¥याउनु र आदिवासी जनजातिलाई लोकतन्त्रको बारेमा बुझाउन सकेनौं जस्तो लाग्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन अरू भातृ संगठन भन्दा पहिला सम्पन्न गर्न सफल हुनुभयो । यहाँसम्म आइपुग्दा तपाईंको अनुभव कस्तो रह्यो ?

कांग्रेसका १३ वटा भातृ संगठनको नेतृत्व पार्टी सभापतिले नै फेर्नुभएको र महाधिवेशनका लागि निश्चित समयसीमा समेत तोकिदिनुभएको थियो । यसमा हामीले पनि दुई पटकसम्म समय थपेर महाधिवेशन गर्नुपर्‍यो । तर, पाएको जिम्मेवारीलाई कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा मैले जिम्मेवारी प्राप्त गरेका दिनदेखि संगठनिक गतिविधिलाई चलायमान गरें । तीन महिनामा ४९ जनाको समिति गठन गर्दा मैले निकै चुनौती बेहोर्नुपरेको थियो । नेताहरुबाटै निकै ठूलो दबाब र गाली आएको थियो । तर,सबै नेताहरुलाई सोधेर समिति बनाएँ । कमिटी बनाउँदा काम गर्ने साथीहरूलाई राखेर बुद्धिमत्तापूर्वक अघि बढेका कारण मलाई साथीहरुले ठूलो सहयोग गर्नुभयो । संगठनलाई चलायमान बनाउन संगठनको प्रमुख्य नेतृत्व नै चलायमान हुनुपर्छ र नेतृत्वले चाहेको खण्डमा सबैलाई मिलाएर काम गर्न सकिन्छ भन्ने एउटा उदहारण पेस गरेको छु ।

समग्र आदिवासी जनजातिका मुद्दा उठाउने सवालमा महासंघ कसरी प्रस्तुत हुन्छ ?

हाम्रा मुद्दाका सवालमा गत वर्ष असारमै तीनदिने राष्ट्रिय प्रशिक्षण गरेर १७ बुँदे घोषणापत्र जारी गरेका छौं । त्यो घोषणापत्रमा धेरै माग समावेश छन् । पार्टी सभापति, उपसभापति, महामन्त्रीलगायत नेताहरूसँग समन्वयमा उक्त काम भएको छ । पहिला नै भीमबहादुर तामाङको नेतृत्वमा गठन भएको समितिले पहिचान भेटिने द्वन्द्व मेटिने भन्ने डकुमेन्ट तयार पारेको थियो । त्यसैलाई आधार मानेर हामीले हाम्रा अधिकारहरू घोषणापत्रमा समावेश गरेका छौं । जाति–जातिबीच असहिष्णुता र असामाज्यश्यता कायम नहोस्, आफ्ना अधिकार माग्दै गर्दा अर्काको अधिकार हनन नहोस् भन्ने ढंगबाट हामीले बनाएको घोषणापत्रलाई कार्यान्वयनमा जोड दिएका छौं । नेपालमा आदिवासी जनजातिहरूको बाहुल्यता रहेकाले आदिवासी जनजाति संस्कार, संस्कृति, भाषा र पहिचानका कुरालाई संरक्षण सम्वद्र्धन गर्न छुट्टै मन्त्रालय नै बनाइनुपर्छ भन्ने हाम्रो मुख्य माग रहेको छ । यी विषयलाई संस्थतागत गर्दै लैजाने र आम आदिवासी जनजातिहरुलाई आफ्ना माग र मुद्दामा खरो रूपमा उत्रन सक्ने बनाउने गरी हामीले अभियान चलाउनुपर्छ ।

पार्टी र आदिवासी जनजातिबीचको सम्बन्धलाई कसरी लिनुभएको छ ?

यो संगठन स्थापना भएको १६ वर्षको इतिहासमा अहिलेसम्म महाधिवेशन भएको थिएन । एक त पार्टीमा जनजाति भनिसकेपछि त्यत्तिकै पनि निष्क्रिय हुने परिस्थिति छ । कतिपय नेता साथीहरु आदिवासी जनजाति कोटाबाट नेतृत्वमा पुगेका छन् । तर, उनीहरूलाई जनजातिको स्वादै छैन । त्यस कारणले पनि संगठन चलायमान बनाउन अलि समस्या भएका छन् । धेरै आदिवासी जनजाति साथी पार्टीको च्यानलभन्दा बाहिर रहेका छन् । त्यो समूहलाई विशेष गरी पहिला एमालेले र पछि माओवादीले विभिन्न जातीय नारा दिएर प्रयोग गर्दै आएका छन् । आदिवासी जनजाति स्वभावैले लोकतान्त्रिक हुन्छन् । उनीहरुका पारिवारिक, सामाजिक र राजनीतिक आचरण र स्वभाव नै लोकतान्त्रिक हुन्छन् । तर, त्यो समुदायलाई लोकतन्त्र के हो भन्ने नै बुझाउन आवश्यक छ । लोकतन्त्रका बारेमा बुझाइसकेपछि मात्रै उनीहरूलाई नेपाली कांग्रेसका बारेमा थाहा हुन्छ र कांग्रेसमा समाहित हुन सहज हुन्छ ।

योजनाचाहिँ कसरी बनाउँदै हुनुहुन्छ ?

अब चाँडै केन्द्रीय समितिको बैठक बस्ने र योजनाहरू बनाउने तयारीमा जुटेका छौं । यही वर्षबाट हामीले विशेष प्रशिक्षणका कार्यक्रमहरु जिल्ला–जिल्ला पु¥याउने र लोकतान्त्रिक विचार प्रवाह गर्ने योजनामा छौं । हाम्रा संगठनहरू पार्टीकै जस्तो प्रत्येक जिल्ला र वडा स्थानीय तहमा समेत गठन भइसकेका छन् । वडा, पालिका, प्रदेश क्षेत्र, जिल्ला, प्रदेश र संघमा संगठन चलायमान छन् । यी संगठनलाई परिचालन गर्दै हाम्रा अभियानहरू अघि बढाउनेछौं । अहिले नेपाल सरकारले ५९ जनजाति सूचीकृत गरेको छ । यीमध्ये महासंघमा १८ वटा जातीय संगठन सहभागी छन् । महासंघमा आबद्ध नभएका जातीय संगठनहरुले महासंघमा सहभागी बन्न निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । उहाँहरुले अलि व्यापक भेला गर्ने, आफ्नो संगठनको विधान भेलाले पारित गर्ने र सोही भेलाबाट समिति बनाएर महासंघमा सहभागी हुन सक्ने व्यवस्था छ । यसलाई पनि हामी सँगसँगै लैजानेछौं ।

आदिवासी जनजातिका मुद्दाहरूलाई बलियो बनाउन कांग्रेसले कस्तो भूमिका खेलिदियोस् भन्ने अपेक्षा छ ?

नेपाली कांग्रेसको वर्तमान सभापति शेरबहादुर देउवाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको असमझदारीपछि नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी निर्माण गर्दा नै कदमजमको नारा स्थापित गर्नुभएको हो । अहिले स्वयं पार्टी सभापति हुँदा आदिवासी जनजातिको मुद्दालाई सशक्त रूपमा उठाउनुहुन्छ भन्ने हामीलाई विश्वास छ । ०४६ सालको परिवर्तन पश्चात् नेपाली कांग्रेस सत्तामा बस्दाखेरि गरेका गतिविधि हामीले नजिकबाट नियालिरहेका छौं । यसमा कतिपय कुराहरु लागू हुन सकेका छैनन् । जस्तै– आईएलओ १६९ गिरिजाप्रसाद कोइरालाकै पालामा शुरुआत भएको थियो । त्यसको पूर्ण कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन । त्यस्तै, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान लगायतका जति पनि समावेशी आयोग बनेका छन् ती सबै नेपाली कांग्रेसको नेतृत्वमा बनेका आयोगहरु हुन् । तर, ती आयोग व्यवस्थित हुन सकेका छैनन् । राज्यले दिएका अधिकारहरुका बारेमा आदिवासी जनजातिलाई थाहा छैन । उनीहरुलाई जानकारी गराउने र प्राप्त अधिकार प्रयोग गर्ने तरिका समेत बुझाउने गरी हामीले काम गर्नुपर्नेछ ।

आदिवासी जनजातिलाई पार्टीले किन आकर्षण गर्न सकेन ?

सायद यसमा हामीले उहाँहरूलाई बुझाउन सकेनौं । पार्टीका कार्यक्रम तल्लो तहसम्म नपु¥याउनु र आदिवासी जनजातिलाई लोकतन्त्रको बारेमा बुझाउन सकेनौं जस्तो लाग्छ । पहिलो कुरा लोकतन्त्र के हो ? भनेर नेताहरुले बुझाउन सकेका छैनन् । आज हामीलाई राज्यले के–के अधिकार दिएको छ ? ती अधिकार प्राप्तिका लागि कांग्रेसले के–के योगदान गर्‍यो ? भनेर बुझाउनै सकेनौं । त्यसको फाइदा अरु राजनीतिक दलहरूले लिइरहेका छन् । आदिवासी जनजाती महासंघले यी विषयलाई लिएर तल्लो तहसम्म पुग्ने र संगठन विस्तार गर्‍यो भने आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन । त्यहीअनुसार संगठन निर्माणको तयारीमा जुटेका छौं । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार