श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै

सुदूरपश्चिम प्रदेश विशेष अनुदान कार्यक्रमअन्तर्गत थप तीन अल्ट्रासाउन्ड मेसिनसँगै औजार, उपकरण खरिद गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवतीलाई निकै सहज भएको छ ।

बाह्य क्षेत्रमा चर्को शुल्क तिरेर गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउनका लागि अल्ट्रासाउन्ड गराउनुपर्ने झन्झट हटेर गएको छ । नगरपालिकाले गर्भवतीलाई चार वर्षअघिदेखि निरन्तर रुपमा स्वास्थ्य चौकीमै निःशुल्क रुपमा अल्ट्रासाउन्ड सेवा प्रदान गर्दै आएको छ ।

विसं २०७७ देखि पिपलाडी, झलारी र पीताम्बर गरी तीन स्वास्थ्य चौकीहरूबाट अल्ट्रासाउन्ड सेवा प्रदान गरिँदै आएकामा हाल सेवा विस्तार गरी आठ स्वास्थ्य संस्थामा पुर्‍याइएको छ । “पहिलो वर्ष तीनवटा स्वास्थ्य चौकीमा सेवा सुरु गर्‍यौँ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “त्यसपछि आधारभूत स्वास्थ्य केन्द्र वनसमिति, सहरी स्वास्थ्य केन्द्र बेलडाँडीमा सेवा विस्तार गर्‍यौँ, यस वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्र कालागौडी, सहरी स्वास्थ्य केन्द्र बन्साह र आधारभूत स्वास्थ्य केद्र दीपनगरमा सेवा विस्तार गरेका छौँ ।”

उहाँका अनुसार सेवा सञ्चालनका लागि तीन नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिमसँगै पुनः ताजगी तालिम दिई दक्ष बनाइएको छ । प्रत्येक महिनाको १२ देखि १९ गतेसम्म स्वास्थ्य संस्थाहरूमा अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ । अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रसम्म पुर्‍याएर मातृ शिशुको मृत्यु दरलाई शून्यमा झार्न मद्दत पुगेको शाखा प्रमुख भट्टको भनाइ रहेको छ ।

“गर्भमा रहेको शिशुको अवस्थाबारे अल्ट्रासाउन्डका माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “जोखिमा रहेको गर्भबारे गर्भवती आमासँगै अभिभावकलाई समयमै जानकारी गराइने भएकाले आमा र शिशुको ज्यान जोगाउन सकिन्छ, विगतमा गर्भमा रहेको शिशुको अवस्था पत्ता नलाग्दा आमा र शिशुको ज्यान जाने गरेको थियो, अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुर्याएको छ ।”

अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, गर्भको हप्ता, शिशुको वृद्धि विकास, प्लासेन्टको पोजिसन कस्तो छ त्यो हेर्न सकिने सिअनमी प्रतिमा न्यौपानेले बताउनुभयो । “अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उहाँले भन्नुभयो, “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, ‘एम्नियोटिक’ तरल पदार्थ कति छ भनेर हेर्न सकिन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी हुन्छ ।”

अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रदेखि सुगमका बजार क्षेत्रसम्मका गर्भवतीसम्म पुगेकाले महिलाले यही सेवाका लागि बाह्य क्षेत्रमा खर्चनुपर्ने ठूलो धनराशि जोगिएको उहाँले बताउनुभयो । “एक पटक अल्ट्रासाउन्ड गराउँदा निजी क्षेत्रका अस्पतालहरूले रु एक हजार छ सयसम्म शुल्क लिने गरेका छन्, पटक पटक जाँच गराउनुपर्ने भएकाले निकै रकम खर्च हुन्छ”, आमा समूहमा आबद्ध सीता डगौराले भन्नुभयो, “टाढाका अस्पतालमा यातायातका साधन चढेर पुग्नुपर्ने हुन्छ, त्यसको खर्च थप हुन्छ, खर्चसँगै अस्पतालहरूमा पालो कुर्नुपर्ने हुन्छ ।”

अल्ट्रासाउन्ड सेवा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध हुन थालेपछि गर्भवतीले बाह्य क्षेत्रमा खर्चनुपर्ने रकम जोगिएको उहाँको भनाइ छ । “पालो कुर्नुपर्ने अवस्था पनि छैन, यातायातका साधन खोज्दै हिँड्नु पनि परेको छैन, घरदैलोमै सेवा पाइँदा निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत वर्षको असार मसान्तसम्म २० वर्षमुनिका ३३, बीस वर्षमाथिका एक हजार ९७ र उन्नाइसजना जटिल प्रकृतिका गर्भवतीले अल्ट्रासाउन्ड सेवा लिएका छन् । अल्ट्रासाउन्ड सेवा निकै प्रभावकारी देखिएकाले स्वास्थ्य शाखाले नगरपालिकाका १२ वटै वडामा सेवा पुर्‍याउने लक्ष्य राखेको छ ।

त्यसका लागि शाखाले सुदूरपश्चिम प्रदेश विशेष अनुदान कार्यक्रमअन्तर्गत थप तीन अल्ट्रासाउन्ड मेसिनसँगै औजार, उपकरण खरिद गर्ने योजना बनाएको छ । त्यसका लागि नगर सभामा प्रस्ताव गरिएको रु ५१ लाखको बजेट स्वीकृत भए सेवालाई अझै प्रभावकारी बनाउन सकिने बताइएको छ ।

अल्ट्रासाउन्ड सेवाका लागि हाल एक मात्रै मेसिन उपलब्ध रहेको छ । सोही मेसिन सेवा सञ्चालन गरिएका स्वास्थ्य संस्थामा लगेर सेवा दिनुपर्ने अवस्था रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार