श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

भ्रष्टाचारी जोगाउने हदम्याद कुनै हालतमा स्वीकार्य हुँदैन : अर्जुननरसिंह केसी

कानुन देखाएर भ्रष्टाचारी जोगाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिनका लागि कुनै पनि हालतमा हदम्याद राखेर कानुन निर्माण गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद केसीले चर्चित भ्रष्टाचार प्रकरणमा संलग्नलाई उन्मुक्ति दिनका लागि कानुनमा नै हदम्याद राख्न लागिएको आंशका व्यक्त गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्ना धारणा राख्दै केसीले भ्रष्टाचारको छानबिन तथा अनुसन्धानपछि अभियोजन गर्ने हदम्याद राख्दा भ्रष्टाचारी जोगाउने प्रयास हुने बताए । कानुन देखाएर भ्रष्टाचारी जोगाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो ।

‘भ्रष्टाचारीलाई जोगाउन सरकार नै लागिपरेको छ भन्ने जनभावना बढिरहेको छ, यस्तो अवस्थामा भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा चलाउन पाँच वर्षे हदम्याद राख्नु लोकतन्त्रप्रतिकै चुनौती हो,’ केसीले भने, ‘चर्चित भ्रष्टाचारका काण्डको छानबिन गर्न हदम्याद राख्दा भ्रष्टाचारी जोगाउने हुनसक्छ, यसले विद्रोह जन्माउँछ, मुद्दा चलाउने कुनै सीमा हुनुहुँदैन, हदम्याद कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ भ्रष्टचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने उनको भनाइ थियो ।

राप्रपा सांसद रोशन कार्कीले भ्रष्टाचार निवारणका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन आवश्यक रहेको बताइन् । उनले भ्रष्टाचार प्रकरणको छानबिन गर्न हदम्याद राख्न नहुनेमा स्पष्ट पारिन् । ‘हदम्याद किन र केका लागि राख्ने ? यही हालतमा पारित गर्ने हो भने यो ऐनले भ्रष्टाचार निवारण गर्ने नभई प्रोत्साहित गर्छ,’ कार्कीको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया