श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य म्याग्दीको पुनहिल

घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी । निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जंगलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जंगली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृश्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पुनहिलमा आज बिहान देखिएको हो ।

समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाइमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृश्य देखिन थालेको छ ।

बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृश्यले मोहित बनाएको अनुभव सुनाए। “बेनीदेखि पोखरे बगर-घार-शिख-फलाते- हुँदै घोडे पानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्रान्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,” उनले भने “कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिँड्दाको सबै थकान पुनहिलको दृश्यले मेटाइदियो ।”

चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमंग र उत्साह थपिएको धवलागिरि गाउँपालिका-७ का दिपेन्द्र न्यौपानेले बताए । एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताए। “शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,” उनले भने “छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तव्य रहेछ ।” अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ ।

घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डामबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताए । “पुनहिलमा ऋतु अनुसार फरक/फरक दृश्य अवलोकन गर्न सकिन्छ,” उनले भने “एकै ठाउँबाट धेरै हिमाल, वनजंगल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृश्य अवलोकन गर्न पाउनु पुनहिलको विशेषता हो ।”

पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरूको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल/घोडे पानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँ पुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ ।

म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडे पानी पुगिन्छ । पुनहिल र घोडे पानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ ।

घोडे पानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताए। “गुराँसको जंगलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,” उनले भने “मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।” वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडे पानी-पुनहिल क्षेत्र घुम्न सो भन्दा बढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु. ५० र विदेशीले रु. एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ ।

पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले रु ६६ लाखमा ठेक्का लगाएको थियो । यस वर्ष रु. ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरे पनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन् । पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवर्द्धनमा परिचालन गरिएको उनले बताइन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार