पुष ४, २०८२ शुक्रबार December 19, 2025

अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज : सुदूरपश्चिमलाई बेवास्ता

चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । सुदूरपश्चिममा मेडिकल शिक्षा अध्यापन गराउने उद्देश्यले कैलालीमा गेटा मेडिकल कलेजका लागि संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताका कारण सञ्चालनमा आउन सकेको छैन । कलेजसँग सम्बन्धित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन हुँदा पनि सरकारी तबरबाट मेडिकल शिक्षा अध्यापन सुरु हुन नसकेको हो ।

गेटामा कम्तीमा ६ सय शय्यासम्म सञ्चालन गर्न सकिने संरचना दुई वर्षअघि नै निर्माण भएको थियो । अस्पतालले ३ सय शय्यासम्मको अनुमति मागे पनि सरकारले भने ५० शय्याको अस्पतालमात्रै सञ्चालनको स्वीकृति दिएको छ । संघीय सरकारले ०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शय्याको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको अस्थायी स्वीकृति दिएको हो ।

चिकित्सा शिक्षा अध्यापनका लागि कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालनमा रहेको हुनुपर्ने व्यवस्था छ । अस्पतालका तत्कालीन निर्देशन डा. प्रमोद जोशीले ०८० कात्तिक १ देखि ओपीडी सेवा सुरु गरेका थिए । ओपीडी सेवा प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको अवस्थामा अस्पताल प्रमुख डा. विप्लव सापकोटाले गत साउन ३२ देखि अन्तरंग (इन्डोर) सेवा पनि सुरु गरेका छन् । इन्डोर सेवा थालेको तीन साता बितिसक्दा एक जना बिरामी पनि गेटा अस्पताल पुगेको अभिलेख छैन ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले ओपीडीमा दैनिक ४० जनासम्म बिरामी हुने गरेको बताए । अस्पतालमा एक सय ४१ जनाको अस्थायी दरबन्दी छ । सूचना अधिकारी कार्कीका अनुसार हाल १० जना विशेषज्ञ चिकित्सक छन् । तीन जना हाडजोर्नीका चिकित्सक र दुई रेडियोलोजिस्ट छन् । यस्तै स्त्रीरोग विशेषज्ञ, फिजिसियन, जनरल सर्जन, एमडीजीपी र एनेस्थेसियन एक/एक जना छन् । थप ५ जना मेडिकल अधिकृत छन् । बिरामी नआएपछि उनीहरू अधिकांश दुई घण्टाजति अस्पतालमा हाजिर लगाएर धनगढी फर्किने गरेका छन् ।

अस्पतालमा आकस्मिक सेवा, फार्मेसी, प्रयोगशाला, अप्रेसन थियटर, आईसीयू स्थापना हुन सकेको छैन । ‘आधारभूत सेवा सञ्चालन नभएसम्म इन्डोर सञ्चालन हुन सक्ने कुरै भएन,’ एक कर्मचारीले भने । अस्पतालले तीन सय शय्याको स्वीकृति र दरबन्दी माग गरी मन्त्रालयमा पठाइएको जनाएको छ ।

अस्पताल प्रमुख डा. सापकोटा आफू जिम्मेवारीमा आएदेखि नै अस्पतालका लागि आवश्यक कार्य गर्न लागिपरेको दाबी गर्छन् । ‘बाहिरबाट हेर्दा विशाल र भव्य भवनभित्र अहिलेको सुरुआती अवस्था देख्दा मनमा प्रश्न उठ्नु स्वाभाविकै हो । तर अस्पतालका लागि आन्तरिक पूर्वाधार व्यवस्थापन जहाँसुकै शून्यबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘उपकरण स्थापना गरेर सञ्चालनमा आउनेबित्तिकै सेवा प्रभावकारी बनाउन सकिनेछ । धेरैजसो मेडिकल पूर्वाधार स्थापना हुने चरण पुर्‍याएका छौं ।’

सरकारले गेटालाई विगतमा मेडिकल कलेज वा प्रतिष्ठान बनाउने भन्दै आएको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्को बैठकबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्य गरिमा शाहले गेटाको विधेयक राष्ट्रिय सभाबाट ०८० माघ २९ मा सर्वसम्मत रूपमा पारित गरिसकेको बताइन् ।

‘हाल प्रतिनिधिसभामा रहेको उक्त विधेयक चाँडो पारित भएर कार्यान्वयन प्रक्रियामा जाओस् भन्ने सुदूरपश्चिमको साझा धारणा हो,’ उनले भनिन् । प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले उक्त विधेयक प्रतिनिधिसभाको शिक्षा समितिमा छलफलको चरणमा रहेको बताए । ‘कहिले पारित हुन्छ, भन्न सकिन्न,’ उनले भने, ‘सकभर यसै अधिवेशनमा पारित होस् भन्ने चाहन्छौं ।’ कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
२०८२ पुष ४, शुक्रबार
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस
२०८२ पुष ४, शुक्रबार
रास्वपाको समानुपातिक उम्मेदवार चयन प्रक्रिया तीव्र, पुस १४ मा अन्तिम सूची आउने
२०८२ पुष ४, शुक्रबार
प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख
२०८२ पुष ४, शुक्रबार
रवि लामिछानेलाई रिहा गर्ने अदालतको निर्णयको बाबुरामले गरे स्वागत
२०८२ पुष ४, शुक्रबार
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
२०८२ पुष ४, शुक्रबार
वार्षिक दुई लाख टन आयोनुन आपूर्ति गर्दै साल्ट ट्रेडिङ
२०८२ पुष ४, शुक्रबार