श्रावण ६, २०८२ मंगलबार July 22, 2025

समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ – झलनाथ खनाल

नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको खनालले नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उहाँले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट गहिरिएकाले राष्ट्रियतामाथिको सङ्कट देखापरेकामा चिन्ता व्यक्त गर्दै नेता खनालले भन्नुभयो, “वर्तमान संविधान जारी भयपछिका यी नौ वर्षमा आठवटा नीति तथा कार्यक्रम, नौवटा वार्षिक बजेट र दुईवटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकाङ्क्षा सम्बोधन हुन सकेको छैन ।

देशको पछिल्लो परिस्थितिले जनतामा निराशा सिर्जनाभएकाले आगामी दिनमा सबैको सहकार्यबाट संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” पूर्वप्रधानमन्त्री खनालले संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया