श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आज विश्व पर्यटन दिवस, नेपालमा यसरी मनाइँदैछ

कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असोज ११ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिनेछ ।

दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउनका लागि तीन तहका सरकारको सहकार्यमा निजी क्षेत्रका पर्यटन व्यवसायी, गैरसरकारी संस्था र समुदायको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । मूल समारोह समितिले राष्ट्रिय नाचघरमा आयोजना गर्ने औपचारिक समारोहमा विभिन्न मन्त्री, सरकारी उच्च अधिकारी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहनेछ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिध्यतामा कार्यक्रम हुनेछ । पर्यटनसम्बद्ध विशिष्ट व्यक्तित्वहरूबाट शुभकामना आदनप्रदान गरिनेछ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने कार्यक्रम छ । यस्तै बिहान ठमेलमा प्रभातफेरी गरिनेछ । उक्त कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।

दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ। ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाडौँ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’को दोस्रो संस्करण काठमाडौँमा बिहीबार सुरु भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । दिवसको उद्देश्य अन्तर्राष्ट्रिय समुदायको सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मूल्यहरूलाई प्रभाव पार्न पर्यटनको महत्वबारे चेतना जगाउनु रहेको जानकार बताउँछन् ।

नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक छ : पर्यटनमन्त्री

विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । ‘नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ । हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ’, उनले भने, ‘पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य हो ।’

पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढाइएको जानकारी दिए । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने बताए । दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।

२५ विधामा सम्मान

दिवसका अवसरमा पर्यटन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता लामिछानेले बताए । यसमा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न २५ विधामा सम्मान गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दिवसकै सन्दर्भमा पर्यटनको विकास प्रवर्द्धन कार्यक्रमलाई सघाउन र त्यस्ता कार्यक्रम देशैभर आयोजना गर्न र वर्षभरि पर्यटकीय गतिविधि सञ्चालन गर्ने मन्त्रालयले निर्णय गरेको छ । दिवसका अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) हालै रक्तदान कार्यक्रम गरेको थियो । दिवसलाई भव्य रूपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले बताए ।

कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउने क्रम जारी छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवर्द्धनमा विश्व पर्यटन दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘विश्व पर्यटन दिवसले देश, समाजलाई पर्यटनबाटै आर्थिक समृद्धिको महत्व अनुभूत गराउन प्रेरित गर्छ, पर्यटनको अध्ययन, अनुसन्धान र यसको सम्भावना र भावी रणनीति बनाउन पनि मद्दत पुग्छ’, उनले भने।

अध्यक्ष शाहले पर्यटन क्षेत्रको सम्भावनाको अधिकतम उपयोग गरेर बढीभन्दा बढी लाभ लिनसक्नुपर्नेमा जोड दिए । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो । परम्परागत सांस्कृतिक सम्पदाको सङ्गम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार