जेठ २२, २०८३ शुक्रबार June 5, 2026

निर्देशिका विपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ ।

२८ असारमा बसेको बैठकले निर्देशिकाविपरीत ललितपुरस्थित स्टार हस्पिटल र काठमाडौं मेडिकल कलेजलाई आफैं स्वाब संकलन गरेर कोभिड-१९ परीक्षण गर्ने अनुमति दिएको पाइएको हो । स्टार र केएमसी अस्पताललाई त्यहाँ आएका बिरामीका साथै विदेश जाँदा कोरोना परीक्षणको रिपोर्ट चाहिने व्यक्ति र विदेशी नियोगमा कार्यरत कर्मचारीको परीक्षण गर्न अनुमति दिइएको हो ।

बैठकको निर्णयपत्रमा भनिएको छ, ‘हाललाई कोभिड-१९ परीक्षणका निम्ति स्वीकृति दिइएका निजी क्षेत्रका प्रयोगशालाले शुल्क लिएर गर्ने परीक्षणमा सम्बन्धित प्रयोगशाला आफैंले भिटिएम, रिएजेन्टलगायतका सामग्री आफैंले व्यवस्था गरी तोकिएको शुल्कभन्दा बढी नलिने गरी सम्बन्धित अस्पतालका बिरामी, विदेश जानुपर्ने व्यक्तिहरू तथा विदेशी नियोगका कर्मचारीलाई मात्र परीक्षण गर्न स्वीकृति दिने ।’

स्टार हस्पिटल र काठमाडौं मेडिकल कलेजभन्दा थप निजी प्रयोगशालालाई अनुमति नदिने निर्णयपत्रमा उल्लेख छ । स्वास्थ्य मन्त्रालय आफंैले बनाएको निर्देशिकामा भने निजी अस्पतालले नमुना संकलन गरेर परीक्षण गर्न नपाइने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पिसिआर) गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ भन्दा पनि उच्च तहका अधिकारीको सहभागितामा गरिएको निर्णय भएको बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले निर्देशिकाभन्दा उच्च तह भन्ने नहुने बताए । उनले भने, ‘एउटै नियम सबैतिर लागु गर्नुपर्छ । सरकारी र निजी दुवैलाई एउटा निश्चित मापदण्ड बनाएर स्वाब संकलन गर्ने अधिकार दिनुपर्छ । परीक्षण शुल्क पनि केही मात्रामा घटाउनुपर्छ ।’

निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्युलर परीक्षण (पिसिआर) गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका २०७७ को बुँदा नम्बर ७ मा भनिएको छ, ‘निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमुनालाई मात्र परीक्षण गर्नेछ । यसबापत नेपाल सरकारले प्रतिनमुना अधिकतम ५ हजार ५ सय रुपैयाँ शोधभर्ना गर्नेछ ।’

सो निर्देशिका गत ८ असारमा स्वीकृत भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार निजीतर्फ नयाँ बानेश्वरको सेन्ट्रल डाइग्नोस्टिक ल्याब (सिडिएल), लाजिम्पाटको सूर्या हेल्थ केयर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी डायग्नोस्टिक प्रयोगशाला, काठमाडौं मेडिकल कलेज र ललितपुरको स्टार हस्पिटलले पिसिआर परीक्षण गर्न अनुमति पाएका छन् । तर, अन्य चारवटा ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको छैन । उनीहरूलाई सरकारले दिएको नमुना मात्र परीक्षण गर्नुपर्ने भनिएको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया