काठमाण्डाैंः सोती घटनाका फरार पाँच अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरूलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।
अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरूलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिनुभयो । उनका अनुसार रुकुमको चौरजहारी नगरपालिका-८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए ।
पाँचमध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।
यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । तिनमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ ।
तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना एक लाख रुपियाँ धरौटीमा छुटेका थिए । गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका एक गरी छ जनाको ज्यान गएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया