असार ३२, २०८२ बुधबार July 16, 2025

राति ११ बजेसम्म होटल खोल्न पाउनुपर्ने तुलसीपुरका व्यवसायीको माग

राति ११-१२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर (दाङ)।तुलसीपुरका होटल व्यवसायीले राति ११ बजेसम्म होटेल खोल्न पाउनुपर्ने माग गरेका छन् । कोरोना पछि होटेल व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा रहेको भन्दै राति ११ बजेसम्म खोल्न पाउनुपर्ने माग राख्दै आएका हुन् ।

“कोरोना पछि सबैतिरको व्यापार ठप्प छ । होटेल व्यवसायी थप मारका बेला विस्तारै चलायमान बन्दै गएको छ”, कुमाख क्याफेका सञ्चालक तुफान केसीले भन्नुभयो, “यस्तो बेला होटेललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालयले ११ बजेसम्म सञ्चालन गर्न पाउने भनी पत्र दिएको भए पनि प्रहरीले ९ बजे बन्द गराउँदै आएको भन्दै यसले व्यवसायी थप मारमा परेका केसीले उल्लेख गर्नुभयो । “प्रहरीले जबर्जस्ती ९ बजे बन्द गराउँदै हिँडिरहेको छ”, उहाँले भन्नुभयो, “यसले हामीलाई निकै मार परेको छ ।”

राति गाडीमा बाहिरबाट आउनेहरुलाई पनि मध्येनजर गर्नुपर्ने भन्दै केसीले राति ११-१२ बजेसम्म होटल सञ्चालनको अनुमति पाए व्यवसायीलाई सहज हुने बताउनुभयो । बाहिरबाट आउने आगन्तुकलाई बस्ने, खाने व्यवस्थाप्रति स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले राति ९ बजे बन्द गर्ने त्यस्तो कुनै निर्णय नभएको बताउनुभयो । भट्टी पसललाई मात्रै ९ बजे बन्द गर्न लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताउनुभयो । “हामीले राम्रो तरिकाले चलिरहेका होटेललाई केही गरेका छैनौँ”, उहाँले भन्नुभयो, “रातिसम्म भट्टी चलाउनेलाई बन्द गराउने गरेका हौँ ।” चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधिलाई मध्येनजर गरेर यस्तो काम गरिएको उहाँले बताउनुभयो ।

होटेल कतिबेलासम्म सञ्चालन गर्ने भन्ने कुरा कुनै निर्णय नभएको भए पनि स्थानीय प्रशासनले सुरक्षालाई मध्यनजरगरी निर्णय गर्नसक्ने दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । “हामीले यतिबेलासम्म चलाउने भन्ने छुट्टै निर्णय गरेका छैनौँ”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले आवश्यकताअनुसार सञ्चालन गर्नसक्छ । तुलसीपुरमा पाँच सय बढी होटेल व्यवसायी छन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया