काठमाण्डाैंः झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका -५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् ।
नेपाल-भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि शनिबार राति ९ बजेर १५ मिनेट जाँदा झण्डै ५० जनाको घरेलु हतियारधारी समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन् ।
डाँगी टोलको पिलर नम्बर १ सय ५२ को तीन सय मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोस्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक (इन्सपेक्टर) साइमण श्रेष्ठले बताए । झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउ लगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए ।
हवाई फायरपछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेकाे प्रहरीले जनाएको छ । भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएर प्रहरीमाथि आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय समूहले त्यसरी नै आक्रमण गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया