पर्सा। जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् ।
चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।
स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन ।
नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएकोे झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताए ।
“मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके । तर, उनले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । ”, उनले भने, “नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् । विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ । ”
पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् ।
उपप्रमुख कुशवाहाले साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरु पनि रोकिएको जानकारी दिए । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले पर्साको बहुदरमाई गाउँपालिकाको खाता अहिलेसम्म पनि सञ्चालनमा नआएको बताए । गत कात्तिकमा नगरसभा भए पनि नगरपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिलेसम्म खाता सञ्चालनमा हुन सकिरहेको छैन”, उनले भने, “चालु आवको साउनदेखि पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । आवश्यक समन्वय गरिरहे पनि अहिलेसम्म विवाद समाधान भएको छैन ।”
गत कात्तिक ३० गते नगरपालिकाका उपप्रमुख कुशवाहा, वडा नम्बर १ का वडाध्यक्ष प्रमोदप्रसाद यादव, वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेल, वडा नम्बर ३ का दिनेश यादव, वडा नम्बर ४ का सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महत्तो कोइरी र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्रप्रसाद गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्सालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।
बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताए । “नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,” उनले भने ।
नगरपालिका प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण अख्तियारनामा दिन केही ढिलाइ भएको स्वीकारे। “गत कात्तिक ८ गते नगरसभाबाट बजेट पारित गरेका छौँ । चाडपर्व र अन्य विविध कारणले अख्तियारी दिन केही समय लागेको हो”, उनले भने “ मङ्सिरभित्रै अख्तियारी दिनेछु ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया