काठमाडौंः पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागलाई क्रियाशील बनाउन थालेका छन् ।
असन्तुष्ट पक्षको विरोधका बाबजुद विभागलाई पूर्णता दिने काम सुरु भएको छ । १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि कुनै पनि नियुक्ति वा मनोनयन गर्न नपाइने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग छ । चार वर्षे कार्यकाल सकिन दुई दिनअघि मात्रै देउवाले ४८ मध्ये २० विभाग गठन गरेका थिए ।
त्यतिबेला विभागको संयोजक मात्रै तोकेका उनले अहिले विभागलाई पूर्णता दिन सदस्य मनोनयनको कामलाई तीब्रता दिएका हुन् । देउवाले सोमबार केन्द्रीय महिला विभागमा सचिवसहित ३८ सदस्य मनोनित गरेका छन् । उनले सचिवमा पार्टीको महासमिति सदस्य एवं नेपाल तरुण दल नेतृ लक्ष्मी खतिवडालाई मनोनित गरेका छन् । विभाग संयोजकमा भने ईश्वरी न्यौपानेलाई अघिल्लो वर्ष १९ फागुनमा मनोनयन गरेका थिए ।
पछिल्लो एक सातामा मात्रै देउवाले तरुण विभाग र खेलकुद विभागमा पनि दुई दर्जन बढी सदस्य मनोनित गरेका छन् । महाधिवेशनको मिति तोकिसकेपछि सभापति देउवाले विभाग गठन, विभिन्न समिति र विभागलाई पूर्णता दिने काम गरेको भन्दै बिहीबार पौडेल, महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए ।
उनीहरूले ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने विधानको व्यवस्थाविपरीत सभापति देउवाले विभाग गठन गरेको आरोप लगाउँदै आएका छन् । पौडेलले महाधिवेशन प्रभावित पार्ने गरी सभापतिले विभागमा सदस्य मनोनित गरेको आरोप लगाए । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया