भक्तपुर, २० मङ्सिर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक संस्थाबाटै देशभक्त नागरिक तयार हुनुपर्ने बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले आज आयोजना गरेको विद्यार्थी बिदाइ कायक्रममा उहाँले शिक्षकहरुले कक्षाकोठाबाटै अध्यापनमार्फत देशभक्त नागरिक तयार गर्नु आजको आवश्यकता भएको बताउनुभएको हो । बिजुक्छेले भन्नुभयो, “नयाँ पुस्ताले देशको सार्वभौमिकताको रक्षाका निम्ति लडेनन् भने आउने पुस्ता राजनीतिक रुपमा कमजोर हुन्छ, त्यसैले विद्यार्थीलाई देशभक्त नागरिक बनाएर देशको रक्षाका लागि अगाडि बढाउनुपर्छ ।”
एक्काइसौँ शताब्दीका विद्यार्थीहरु शैक्षिक, सामाजिक, राजनीतिक र सैद्धान्तिक रुपमा अब्बल हुनुपर्ने उहाँको भनाइ थियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई आफ्नो विषयमा विशेषज्ञ भई देश र समाजको सेवा गर्न अग्रसर हुन आग्रह गर्नुभयो ।
भक्तपुरमा ‘एक घर एक स्नातक’ बनाउने अवधारणाले मूर्त रुप लिइसकेको बताउँदै उहाँले भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको सहयोगी भूमिकामा रहेको बताउनुभयो । रासस
प्रतिक्रिया