वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।

सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस गरेको हो ।

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत असार २६ गते सात दिने खुला दर्खास्त आह्वान गरेको थियो । उक्त अवधिमा सदस्य सचिवका लागि तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए ।

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् । अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ भने मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको निर्णय गर्नेछ ।

खेलकूद विकास ऐन २०७७ मा सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । यसअघि युवा तथा खेलकूदमन्त्रीले राखेप सदस्य सचिव सोझै नियुक्त गर्न मिल्ने ऐनमा व्यवस्था थियो ।

राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकूदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानूनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया