काठमण्डाैंः सप्तरीको राजविराज नगरपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा लागु गरिएको छ ।
निषेधाज्ञा बिहीबार बिहान ५ बजेदेखि लागु हुनेछ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले नगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिएको बताए । उनले तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने समेत जानकारी दिए ।
प्रजिअ आचार्यले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु बिहीबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नगरपालिकाभरी नगर्न-नगराउन निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । सप्तरीमा अहिलेसम्म ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु समेत भइसकेको छ । सप्तरीका ३ सय १० जना व्यक्तिहरु निको भएर आ-आफ्नो घर फर्किसकेका छन् ।
त्यस जिल्लामा अहिलेपनि ३ हजार ८ सय बेड क्षमताको ८६ वटा क्वारेन्टाइनमा ४ सय ४७ जना छन् भने ४ हजार ५ सय ९३ जना होम क्वारेन्टाइनमा छन् । त्यस्तै १ सय ७८ बेड क्षमताको आइसोलेसनमा ८४ जना भर्ना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्ला प्रसासन कार्यालय सप्तरीले जारी गरेको सुचनाः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया