असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाण्डौं विश्वविद्यालयमा पत्रकारितामा स्नातक तहको कार्यक्रम सुरु

कक्षा १२ वा सो सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला हुने र कार्यक्रममा २० जना विद्यार्थीलाई भर्ना गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर), २३ पुसः काठमाडौँ विश्वविद्यालयले अङ्ग्रेजी र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गरेको छ ।

स्कुल अफ आर्ट्सअन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने सो कार्यक्रमका कक्षा यही माघ महिनादेखि सुरु गरिने विश्वविद्यालयको स्कुल अफ आर्टस्की डीन एक्कुमाया पुनले जानकारी दिनुभयो । “चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीअन्तर्गत आठ सेमेस्टरसम्म पठनपाठन हुनेछ । विद्यार्थीहरूले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता गरी दुईवटा विधाको विशिष्टिकृत ज्ञान तथा सीप हासिल गर्न पाउनेछन्”, उहाँले भन्नुभयो ।

भाषा तथा आमसञ्चार विभाग स्कुल अफ आर्ट्सका विभागाध्यक्ष डा निर्मलमणि अधिकारीका अनुसार अङ्ग्रेजी भाषाको दक्षतालाई विशेष महत्त्व दिँदै साहित्यिक विधा तथा बहुविधात्मक सांस्कृतिक अध्ययनका साथसाथै मिडिया अध्ययन, अनुसन्धान र सञ्चार रणनीति पनि पाठ्यक्रममा समेटिएको छ ।

प्राध्यापक डा अभि सुवेदीले यस कार्यक्रमले स्नातकलाई शिक्षा, पत्रकारिता, प्रकाशन, जनसम्पर्क, अनुसन्धान, गैर–सरकारी सङ्गठन, कर्पोरेट सञ्चार र अन्य धेरै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक डा सुवेदीले भाषा, साहित्य तथा आमसञ्चारलाई जोड्दै अध्ययनलाई वैश्विक रूपमा सान्दर्भिक बनाउने काठमाडाँैं विश्वविद्यालयको प्रयास रहेको बताउनुभयो ।

कक्षा १२ वा सो सरह अध्ययन पूरा गरेका विद्यार्थीका लागि यो कार्यक्रम खुला हुने र कार्यक्रममा २० जना विद्यार्थीलाई भर्ना गरिने जनाइएको छ ।

भाषा तथा आमसञ्चार विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमका साथै सञ्चार, अङ्ग्रेजी र नेपालीमा विद्यावारिधि कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ । चलचित्र निर्माण, प्राज्ञिक लेखन तथा सञ्चार सिद्धान्तको विपश्चिमीकरण तथा मौलिक सिद्धान्तीकरण लगायतका विषयमा अल्पकालीन शैक्षिक कार्यक्रम पनि विभागले सञ्चालन गरिरहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया