असार २४, २०८२ मंगलबार July 8, 2025

चिसो बढेपछि विद्यालय बन्द

चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल कम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चन्द्रपुर (रौतहट), २३ पुसः केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका कारण तराई मधेसका अन्य जिल्लासहित रौतहटका नागरिकको जनजीवन प्रभावित बनेको छ । केही दिनयता घाम नलागेका कारण थप समस्या भएको । जाडोले खासगरी विपन्न तथा गरिब परिवार प्रभावित भएका छन् ।

चिसो र शीतलहरले रौतहटको व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, समनपुरमा दिउँसो पनि चहलपहल देखिँदैन । चिसोले नागरिक प्रभावित बन्न थालेपछि जिल्ला विपत् व्यवस्थापन समितिले आगो बाल्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले डिभिजन वन कार्यालय रौतहट र स्थानीय पालिकासँगको समन्वयमा टोलटोलमा दाउरा वितरण गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरणमा सहयोग गर्न विभिन्न गैरसरकारी तथा सरकारी संस्थालाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी फतुवा बेस क्यापले पनि आज आफ्नो क्षेत्रअन्तर्गत विभिन्न चोकमा दाउरा बाल्न सुरु गरेको छ । सशस्त्र प्रहरीले राजपुर, फतुवा महेशपुरलगायत चोकमा दाउरा बाल्ने व्यवस्था गरेको छ ।

यसैबीच गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै तीन दिन गौर नगर क्षेत्रका विद्यालय बन्द गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया