काठमाण्डाैंः त्रिशुली नदी वारपारका लागि तुइन भएको धादिङका सबै स्थानहरुमा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । अब त्रिशुली नदी वारपार गर्न जोखिम मोलेर तुईनको प्रयोग गर्नु पर्ने बाध्यता धादिङ र गोर्खाका स्थानीयहरुलाई हटेको छ ।
धेरै जसो स्थानहरुमा पृथ्वी राजमार्गको धादिङ क्षेत्रलाई झोलुङ्गे पुलले गोर्खा जिल्लासंग सिधै सम्पर्क स्थापित गरेको छ । सरकारले तुइन भएका ठाँउहरुमा तुईन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरुप यस क्षेत्रका सबै तुइनहरु हटाई पुल निर्माण गरेको हो ।
त्रिशुली नदी माथि झोलुङ्गे पुल निर्माण भएपछि आवत जावतमा निकै सहज भएको भनाई धादिङ र गोर्खाका स्थानीयहरुको छ । विशेष गरी गोर्खा र धादिङको दक्षिणी सिमानामा पर्ने सबै जसो क्षेत्रहरुमा त्रिशुली नदीले छुट्याएको कारण एक जिल्लाबाट अर्को जिल्लामा आउन जान समेत तुइनका कारण निकै असहज भएको बेला झोलुङ्गे पुल निर्माण भए पछि स्थानीयहरुले राहत महशुस गरेका छन् ।
बालवालीकाहरुलाई विद्यालय आवतजावतमा होस् या उत्पादित् कृषि उपज ओसार पसारमा होस् तुइन भन्दा पुल नै सजिलो भएको भानाई उपभोक्ताहरुको छ । धादिङ जिल्लामा पर्ने त्रिशुली नदीको एक दर्जन स्थानहरुमा रहेको तुइन हटाई अहिले पुल निर्माणको काम सम्पन्न भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया