असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर

मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले देशमा दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय नगएको बताउँदै मुस्लिम राष्ट्रहरूले बालिकाहरूको शिक्षामा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

इस्लामाबादमा दुई दिने ‘मुस्लिम समुदायमा बालिका शिक्षा : चुनौती र अवसर’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बालिकालाई शिक्षामा समान पहुँच प्रदान गर्न मुस्लिम विश्वले सामना गर्ने महत्त्वपूर्ण अवरोधहरूलाई स्वीकार गरे ।

प्रधानमन्त्री शरिफले आगामी दशकमा लाखौँ युवा बालिकाहरू श्रम शक्तिमा प्रवेश गर्ने भन्दै उनीहरूले आफू र आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउन मात्र नभई विश्व अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने सम्भावनामा रहेको बताए ।

पाकिस्तानको कूल जनसङ्ख्याको आधाभन्दा बढी महिला भए पनि महिला साक्षरता दर ४९ प्रतिशत मात्र रहेको उनले जानकारी दिए । पाँचदेखि १६ वर्ष उमेर समूहका करिब दुई करोड २८ लाख बालबालिका विद्यालय बाहिर रहेको र बालिकाहरूको सङ्ख्या असमान रहेको पनि उनले उल्लेख गरे ।

‘बालिकाहरूलाई शिक्षाबाट वञ्चित गर्नु भनेको उनीहरूको आवाज र छनोटबाट वञ्चित गर्नु हो र उज्ज्वल भविष्यको अधिकारबाट वञ्चित गर्नु हो’, डनले प्रधानमन्त्री शरिफलाई उद्धृत गर्दै भनेको छ ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईसहित मुस्लिम बहुल देशका धेरै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया