काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवाश बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बताईएको छ ।
यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताईन् । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उनले गरेकी छिन् ।
कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४ सय ४४ केन्द्रीय सदस्य छन् । यसअघि केन्द्रीय समितिको बैठक माग गर्दै ठाकुर गैरे, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा, डा. विजय पौडेल लगायतका नेता धुम्बाराहीमा धर्ना बसेका थिए । त्यति बेला स्थायी कमिटी बैठक सम्पन्न भए पनि केन्द्रीय समिति बैठक बोलाउने आश्वासन नेताहरूले दिएका थिए ।
स्थायी कमिटी बैठकले निर्णय गर्न नसक्ने अनुमानपछि केन्द्रीय समिति बैठक माग गरिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया